तुलसीपुर कारागारमा आँखा शिविर र रक्तदान
दाङ : तुलसीपुर कारागारमा कैदी बन्दीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।
कारागार कार्यालय तुलसीपुरले आयोजना गरेको शिविरमा राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरले प्राविधिक सहयोग गरेको कारागारका स्वास्थ्य प्रमुख दोर्ण बहादुर वलीले बताए।
शिविरमा ४१३ जनाले सेवा लिएका थिए। कैदी बन्दीहरूका सामान्य आँखाको समस्या देखिएको र समस्या देखिएकाहरूलाई औषधि दिइएको छ।
साथै कारागारमा रक्तदान कार्यक्रम पनि गरिएको छ। कारागारको आयोजनामा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक तुलसीपुर दाङ र नेपाल स्वास्थ्य प्राविधिक संघ दाङको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो।
रक्तदान कार्यक्रममा ७६ जना पुरुष र ५ जना महिला गरी ८१ जना कैदीबन्दीले रक्तदान गरेका थिए।