चिनियाँ दूतावासका उच्च स्तरीय टोलीद्वारा कोरला नाकाको अनुगमन
जोमसोम : चिनियाँ दूतावासका सुरक्षा अधिकारीसहित उच्च स्तरीय टोलीले कोरला नाकाको अनुगमन गरेको छ। तीन सदस्यीय उक्त टोलीले शनिबार मुस्ताङस्थित नेपाल-चीन नाकाको अनुगमन गरेको हो।
दूतावासका ती अधिकारीहरू म्याग्दी हुँदै शुक्रबार हिमाली जिल्ला मुस्ताङ आइपुगेका हुन्। उनीहरू जोमसोमबाट कोरला नाकास्थित बोर्डरको अनुगमन र निरीक्षण गरेका थिए।
उनीहरू कूटनीतिज्ञ नम्बर प्लेटको ११ सीडी ७ नम्बरको गाडीमा कोरला नाका पुगेका थिए। चिनियाँ दूतावासका सिनियर कर्नेल ल्यु गोझेङ, लेफ्टिनेन्ट कर्नेल रोही र थर्ड सेक्रेटरी झाओ याङप्याङ कोरोला नाका पुगेका थिए।
कोरला नाकास्थित बोर्डर अवलोकनका लागि ३ सदस्यीय चिनियाँ टोली मुस्ताङ आएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। टोलीले शनिबार नै बोर्डर अनुगमन गरी जोमसोम फर्किएको प्रजिअ केशीले बताए। चिनियाँ सुरक्षा टोलीलाई मुस्ताङको घाँसाबाट कोरला नाकासम्म सम्बन्धित स्थानका प्रहरी चौकीले आलोपालो सुरक्षा प्रदान गरेका थिए।
चिनियाँ दूतावासकै पहलमा यस प्रकारका उच्च तहको सुरक्षा अधिकारी मुस्ताङ आएर बोर्डर अनुगमन गरिएको यो पहिलो भएको जानकारहरू बताउँछन्।