आँखाको ज्योति फर्कदा दंग जेष्ठ नागरिक
थाम्सुहाङजस्तै ६६ जना जेष्ठ नागरिकको शल्यक्रिया गरेपछि आँखाको ज्योति फर्किएको छ।
फिदिम : आँखाको ज्योति गुमाएर अन्धकार जिवन बिताइरहेका फालेलुङ गाउँपालिका ५ का ८१ वर्षीय विष्णुप्रसाद थाम्सुहाङ अहिले आँखा देख्ने भएका छन्। फालेलुङ -३ नाम्लुवा भञ्ज्याङस्थित स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेशन गरेपछि थाम्सुहाङले आँखा देख्न थालेका हुन्।
आँखाको ज्योति फर्किएपछि उनी दंग छन्। ‘अर्को जन्म पाएजस्तो भएको छ,’ खुसी हुँदै उनले भने ‘फेरी आँखा देखिन्छ भनेर सोचेको थिइन्। संसार देख्न पाउँदा सारै खुसी लागेको छ।’
थाम्सुहाङजस्तै ६६ जना जेष्ठ नागरिकको शल्यक्रिया गरेपछि आँखाको ज्योति फर्किएको छ। मोतियाबिन्दु, आँखामा ऐजेरु र मासु पालाएकाको अप्रेसन गरिएको हो। जनसेवा समाज पाँचथरद्वारा आयोजित उक्त शिविरमा दुई सय विद्यार्थी सहित आठ सय जनाकोआँखा जाँच गरिएको थियो।
पाँच सयलाई औषधी र दुई सय ५० जनालाई चस्मा निःशुल्क प्रदान गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए। मेची आँखा अस्पताल झापाको प्राविधिक र फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
फिदिमस्थित नेपाली सेनाको रणशेर गणले शिविर सञ्चालनका लागि स्वयंसेवकको रुपमा काम गरेको थियो।