विकट क्षेत्रका अधिकांस महिलामा पाठेघर र आँखाका समस्या
उदयपुर : जिल्लाको विकट क्षेत्रका अधिकांस महिलामा पाठेघर र जेष्ठ नागरिकमा आँखाको समस्या देखिएको छ।
रौतामाई गाउँपालिका, १ नम्बर वडा कार्यालय, वर्ल्ड नेवर्स, मदन भण्डारी आँखा अस्पताल र जिल्ला अस्पतालको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो।
शिविरमा स्वास्थ्य परीक्षण गरेका चार सय दुई जना मध्ये ८० प्रतिशत जेष्ठ नागरिकमा मोतियाबिन्दु तथा हाडजोर्नी सम्बन्धी समस्या र महिलामा पाठेघर खस्ने समस्या देखिएको उपचारमा संम्लग्न प्रसुतिरोग विशेषज्ञ डाक्टर रितेशराज कर्णले बताए।
‘स्वास्थ्य सेवा लिन आएका एक सय १० जना महिलामध्ये धेरैमा पाठेघर समस्या देखिएको छ,' उनले भने, ‘त्यसमध्ये जटिल प्रकृतिका तीन जनाको तत्काल अप्रशेन गर्नु पर्ने देखिएको छ। धेरै जनाको रिङप्रेशरी राख्ने, पाठेघरको मुखमा मासु पलाएकाहरूको निकाल्नुपर्ने, सफा गर्नुपर्ने जस्ता समस्या छन्।'
फिजिसिय विशेषज्ञ डाक्टर राहुल रौनियारले जेष्ठ नागरिकमा हाडजोर्नी, ग्याष्ट्रिक, दाग, पेट, टाउको, ढाड दुख्ने बालबालिकामा लुतो जस्ता समस्या देखापरेको बताए। उनले फिजिसियनतर्फ एक सय २९ जनालाई सेवा प्रदान गरेको बताए।
आँखा रोगतर्फ सेवा लिएका ९९ सय जना महिला र ५० पुरुष गरी १ सय ४९ ले सेवा लिएका छन्। त्यसमध्ये ३७ जनामा मोतियाबिन्दु देखापरेको र ६० जनाको आँखा कमजोर रहेकाले चस्मा लगाउन चिकित्सकले सुझाब दिएको शिविरमा रहेका मदन भण्डारी आँखा अस्पतालका कोषाध्यक्ष कुमार घिमिरेले जानकारी दिए।
मोतियाबिन्दुको अप्रेशनका लागि मदन भण्डारी आँखा अस्पताल गाईघाट र चस्माका लागि समन्वय गरी निःशुल्क सेवा प्रवाह गरिने आयोजक हुरेण्डेकका कार्यक्रम संयोजक बिनु सुवेदीले जानकारी दिइन्।
उनका अनुसार चस्मा र औषधि रौतामाई गाउँपालिकाका वडाध्यक्ष रुद्र कार्कीले व्यक्तिगत रूपमा निःशुल्क उपलब्ध गराएको उनले बताइन्।
पाठेघर खसेका महिलाको निःशुल्क उपचारका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेण्डेक उदयपुरले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजनामार्फत सहयोग गरिने सुबेदीको भनाइ छ।
शिविरमा पाठेघर, फिजिसियन, आँखा, इसिजी, युएसजी, आईयुसीडी, इम्पालन्ट, कोलिप, रिङप्रेसरी लगायतको सेवा प्रवाह गरेको उनले बताइन्।
गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको अवस्था कमजोर रहेकाले आगामी दिनमा शिविर कार्यक्रमलाई निरन्तरता दिइने बताए।
उनले रोग पहिचान र उपचार सेवालाई प्रभावकारी बनाउन पालिकाले विशेष योजना बनाउने बताए। गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र थापाले दुरदराजमा रहेकाहरूको स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको बताए।
उनले स्वास्थ्य चौकीमा मेडिकल अधिकृत (एमबीबीएस) पठाउने सरकारको नीति कार्यान्वयन भए मात्र उपचार सेवा प्रभावकारी हुने बताए।