विराटनगरको महेन्द्र मोरङमा ५४ प्रतिशत मतदान
विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ५४ मत खसेको छ। प्रत्यक्षतर्फको स्ववियु निर्वाचनमा ३ हजार १६६ जनाले मतदान गरेका हुन्।
क्याम्पसको कूल मतदाता संख्या ५ हजार ७९० रहेको छ। मतदानमा २ हजार ६२४ जना विद्यार्थी मतदाताहरु सहभागी भएनन्। पठनपाठन र रोजगारीको सिलसिलामा विराटनगरबाहिर रहेका मतदाताहरु मतदान प्रक्रियामा सहभागी नभएको महेन्द्र मोरङ निर्र्वाचन संयोजक सुशील अधिकारीले बताए।
क्याम्पसमा आइतबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो। मतदान दिउँसो ४ बजेसम्म चलेको थियो। मतदानमा समानुपातिकतर्फ भने ३ हजार १६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार सर्वदलीय बैठक बसेर मतगणनाबारे आवश्यक निर्णय लिने तयारी भइरहेको छ। सम्भवतः आइतबार रातीदेखि नै मतगणना सुरु हुने जनाइएको छ।
महेन्द्र मोरङमा स्ववियु सभापति पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियु (एमाले) बाट नवीन पहाडी र अखित (क्रान्तिकारी) बाट रोहित यादवको उम्मेदवारी रहेको छ। स्ववियुको सचिवमा भने नेविसंघबाट पुजा विश्वास, अनेरास्ववियुबाट सनिम ठकुरी, अखिल (क्रान्तिकारी) बाट आशिका लम्साल र अनेरास्ववियूबाट निर्मल भण्डारी उम्मेदवार छन्।