कार्यान्वयनमा एक बिमक एक बिमा अभिकर्ता
काठमाडौं : नेपाल बिमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बिमक एक बिमा अभिकर्ता व्यवस्थापन सुरु गरेको छ।
बिमा ऐन, २०७९ मा समान किसिमको एक बिमक एक बिमा अभिकर्ताको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।
यसअघि एउटा अभिकर्ताले धेरै बिमा कम्पनीको अभिकर्ता भएर काम गर्दा विकृति आएपछि यसलाई कडाईका साथ कार्यान्वयनमा लागिएको हो।
प्राधिकरणको केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन प्रणालीमार्फत एक बिमक एक बिमा अभिकर्ताको व्यवस्थापन गर्ने कार्यको शुभारम्भ गरे।
अध्यक्ष सिलवालले भने, 'अनलाइन प्रणालीका माध्यमबाट बिमा अभिकर्ताको व्यवस्थापन भएपछि बिमा अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बिमा अभिकर्ताको अनुगमन गर्न सहज हुने छ। बिमा व्यवसाय वृद्धि भएसँगै बिमा अभिकर्ताको सङ्ख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बिमा अधिकर्ताले काम गर्नुपर्ने छ।'
प्राधिकरणले अनलाइन प्रणाली मार्फत बिमा अभिकर्ताको व्यवस्थापनको कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकहरूबाट नविकरण दस्तुर भुक्तानी गरी बिमा मध्यस्थकर्ता (बिमा अभिकर्ता र सर्भेयर) को इजाजतपत्र नविकरणको व्यवस्थालाई निरन्तरता दिएको छ।
प्राधिकरणमा बिमकहरूमार्फत अनलाइन प्रणालीका माध्यमबाट हालसम्म १ लाख ६३ हजार ९ सय २५ को संख्यामा बिमा अभिकर्ताले स्थायी लेखा नम्बर समेत आवश्यक कागजात समावेश गरी विवरण अद्यावधिक गराएका छन्।
बिमा अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएका बिमा अभिकर्ताको सङ्ख्या २ लाख २१ हजार ८ सय ५० मध्ये १ लाख ६३ हजार ९ सय २५ को अद्यावधिक भएको र बाँकी ५७ हजार ९ सय २५ को भने अद्यावधिक गर्ने कार्य प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।
अनलाइन प्रणालीमा बिमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बिमा कम्पनीमा कार्य गर्ने बिमा अभिकर्ताहरूको संख्या ५ हजार ४५ रहेको छ।
एकभन्दा बढी बिमकमा कार्यरत बिमा अभिकर्ताहरूलाई एउटा बिमक छान्न मिल्ने व्यवस्था वन टाईम पासवर्ड (ओटिपी)मार्फत गरिएको छ।
यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बिमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न निर्देशन दिए।
साथै, अनलाइन प्रणाली मार्फत बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्था समेत मिलाइएको छ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले अनलाइन प्रणालीका माध्यमबाट एक बिमक एक अभिकर्ताको व्यवस्थापन र इजाजपत्र नवीकरण लगायतका बारेमा कार्यपत्र प्रस्तुत गरे।