खेलाडीलाई न्याय गर्न राजनीतिक दल एकै ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई न्याय गर्न सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने बताएका छन्। संसदमा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक संकटको सामना गर्न पनि राष्ट्रिय सहमतिको विकल्प नरहेको जिकिर गरे।
‘एउटा गुणस्तरीय रंगशाला समेत नपाएका क्रिेकट खेलाडीले देशलाई विश्वकप छनोटसम्म पुर्याए। तीमाथि न्याय गर्न पनि हामी सबै एक ठाउँमा उभिनु छ। आर्थिक संकटको सामना गर्न पनि हामीसँग राष्ट्रिय सहमतिको विकल्प छैन,'प्रधानमन्त्रीले भने।
नेपालले केही दिनअघि मात्रै आईसीसी विश्वकप क्रिकेट लिग २ को शीर्ष तीनमा रहँदै जिम्बाब्वेमा हुने विश्वकपको छनोटमा स्थान सुरक्षित गरेको छ। जुन–जुलाईमा हुने त्यो छनोटमा पुग्न राष्ट्रिय क्रिकेट टिमले १२ मध्ये ११ खेलमा जित निकालेको थियो।
आफू नेतृत्वको सरकारले गरेका काम उल्लेख गर्दै प्रचण्डले भने,‘राष्ट्रको आत्मवलर सम्मान बढाउने खेलाडीहरूलाई प्रोत्साहित र पुरस्कृत गरिएको छ। रंगशालाको निर्माणलाई पनि गति दिइएको छ।’