हामीलाई संगठनभन्दा महिलाको नेतृत्व आवश्यक थियो, त्यसैले निर्वाचित भयौं : सभापति खत्री
बझाङ : झाङका आठ क्याम्पसमध्ये अब सुप विश्वविद्यालय अन्तर्गतको जयपृथ्वी बहुमुखी क्याम्पसमा मात्रै स्ववियु चुनाव हुन बाँकी छ ।
अहिलेसम्म ७ क्याम्पसको नतिजा अनुसार नेकपा एमाले निकट अनेरास्ववियु तीन क्याम्पसमा, कांग्रेस निकट नेविसंघ दुई क्याम्पसमा, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अनेरास्ववियु एक क्याम्पसमा र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) एक ठाउँमा बिजयी भएका छन् ।
सभापतिमा सेती क्याप्पस बगडगाउँबाट लक्ष्मण गिरी,सुनकुडा नमूना क्याम्पस सुनकुडाबाट दिलीप अधिकारी र थलारा क्याम्पस थलाराबाट महेश जेठारा निर्वाचित भएका छन् । तीनै क्याम्पसमा एमाले निकट अनेरास्ववियुले जित हाँसिल गरेको हो ।
त्यस्तै खापरदेव क्याम्पस, खप्तडछान्नामा शर्मिला खत्री नेतृत्वको प्यानल र त्रिवेणी आदर्श क्याम्पस बुङगलमा करिना भण्डारीले जित हात पारेका छन् । बझाङ दीप क्याम्पस झोतामा भने चन्दनिकट अनेरास्ववियु क्रान्तिकारीका कमल थापा स्ववियु सभापतिमा निर्वाचित भएका छन् । यस क्याम्पसका अन्य पदाधिकारी तथा सदस्य पदमा अनेरास्ववियुको प्यानलले जितेको छ ।
यस्तै शान्दी आदर्श क्याम्पस छबिसपाथिभेरामा भने सभापति नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) का सागर पण्डितलाई सहमतिमा दिइएको छ भने सचिव नेकपा एमालेनिकट अनेरास्ववियुले राखेको छ । बाँकी पदमा नेविसंघ र अखिल क्रान्तिकारीले भागवण्डा मिलएका छन् ।
खापरदेव क्याम्पस खप्तडछान्नाको सभापतिमा नेविसंघको शर्मिला खत्री निर्वाचित भएकी छन्। क्याम्पसमा ७७ जना विद्यार्थीमध्ये १८ जना छात्र र ५९ जना छात्रा रहेका छन् ।
यस क्याम्पसमा लामो समय स्ववियु सभापति पुरुष चुनिदै आएको भए पनि यसपटक भने निर्वाचित हुने महिलाको संख्या बढि छ। महिलालाई नेतृत्व दिन नचाहने संगठन र समाजका बेगर नेविसंघको तर्फबाट स्ववीयु चुनावमा होमिएका सबै छात्राहरू आफ्ना समकक्षीहरूले साथ दिँदा जित हात पार्न सफल भएको बताउँछन् ।
संगठनले पनि आफ्नो नेतृत्वलाई सुरूमा अस्वीकार गरेको र पछि सहकर्मी साथीहरूको जोडबलले स्वीकारेको नव निर्वाचित सभापति खत्रीले बताइन् ।
क्याम्पसका सबै छात्राहरूले पटक पटक पुरुषलाई नेतृत्व जिताए पनि कुनै परिवर्तन नआएको र यसपटक जुनसुकै संगठनको भए पनि महिलालाई जिताउनुपर्छ भनेर लागिपरेको क्याम्पसका विद्यार्थी बबिता कार्कीले बताइन् । क्याम्पस सबै संगठनहरु जोडतोडले लागे पनि छात्रा विद्यार्थीकै सहयोगमा नेतृत्व लिन सफल भएको सभापति खत्रीले बताइन् ।
खत्रीले भनिन्, ‘म र मेरो नेतृत्वले जित हात पार्नुमा सबैको भूमिका महत्वपूर्ण छ । विगतमा पुरुष मात्रै नेतृत्वमा पुग्थे । यसपटक मैले सबै छात्रा विद्यार्थीलाई सम्झाएँ । उहाँहरु सहमत हुनुभयो । मलाई नलड हार्छौ भन्नेहरु पनि थिए तर मैले मानिन् । यसपटक पनि मलाई नेतृत्व छोड भनेर दबाब नआएको होइन तर साथीहरुको उत्साह र मेरो अठोटले सफल भएँ । यस क्याम्पसका सबै छात्रा,सबै विद्यार्थी संगठन मिलेर मेरै नेतृत्वलाई भोट दिए र मेरो टिमले जित्यो । अब काम गर्न पनि सहज हुन्छ किनभने हामी प्रायः छात्रा नै छौं ।’
उनले सबै छात्राहरू जुन संगठनमा आवद्ध भए पनि यसपटक आफू नेतृत्वको टिमलाई जिताउन लागेको भन्दै खुशी व्यक्त गरिन् । साथै सभापति खत्रीले आफू र आफ्नो टिमलाई नेतृत्व सुम्पिनेप्रति धन्यवाद ज्ञापन गर्दै समग्र क्याम्पस र विद्यार्थीको हकहितमा लडिरहने बचन दिइन्।
खापरदेव क्याम्पसमा सोझमबार सम्पन्न स्ववियु चुनावमा ६ जना प्रत्यक्ष र ३ जना समानुपातिक नेविसंघ बाँकी २ एमाले निकट अनेरास्ववियुका गरी ११ जना निर्वाचित भएका छन् । निर्वाचित १० जना छात्राहरू र एक जना छात्र रहेका छन् ।