सार्थक खुसी
उच्च प्रतिव्यक्ति आय भएका देशहरू सबैभन्दा खुसी छैनन् भन्ने प्रष्ट भइसकेको छ। खुसीको सम्बन्ध कानुनी शासन, सार्वजनिक सेवा र नागरिकको दैनिक जनजीविकाको व्यवस्थापन सँग हुन्छ।
‘विश्व खुसी सूचकांक’ को यो वर्षको प्रतिवेदनमा नेपाल ६ अंकको सुधारसहित ७८औं स्थानमा उक्लेको छ। यस प्रसंगमा नेपाली सार्थक खुसीका साथ बाँचिरहेका छन् त ? भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ। विश्वमा कुन राष्ट्र सबैभन्दा खुसी छन् भन्ने पत्ता लगाउन द वल्र्ड ह्यापिनेस रिपोर्टद्वारा विश्वव्यापी सर्वेक्षणमा आधारित विश्व खुसी प्रतिवेदनको ११औं संस्करण यही मार्च २० मा जारी गरिएको हो। संयुक्त राष्ट्र संघ दिगो विकास समाधान सञ्जालद्वारा जारी यस प्रतिवेदनले विश्वभरका १ सय ५० भन्दा बढी देशका मानिसले आफ्नो जीवनको मूल्यांकन कसरी गर्छन् भन्ने बारेमा विश्वव्यापी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषण गरी यो प्रतिवेदन तयार गरेको छ।
यस वर्षको विश्व खुसी प्रतिवेदनमा फिनल्यान्डलगातार छैटौं वर्ष सर्वोच्च स्थानमा छ। यसपछि डेनमार्क, आइसल्यान्ड, इजरायल र नेदरल्यान्ड्स छन्। संयुक्त राज्य अमेरिका १५औं स्थानमा छ भने चीन ६४औं र भारत १२६औं स्थानमा छन्। अफगानिस्तान १३७औं स्थानका साथ विश्वको सबैभन्दा कम खुसी देश भएको छ। प्रत्येक वर्ष मार्च २० मा मनाइने अन्तर्राष्ट्रिय खुसी दिवसको उपलक्ष्यमा प्रकाशित गरिने प्रतिवेदनअनुसार पोहोर नेपालले
५.३८ अंक पाएको थियो भने यसपाली ५.३६ अंक पाएको छ। अर्थात् अरू देशहरूको स्थिति बढी बिग्रिँदा नेपालको स्थान बढेको देखिन्छ। यसको अर्थ नेपाली पोहोरभन्दा यसपालि कम खुसी छन्।
नेपालीको सार्थक खुसीको चर्चा गर्नुअघि हार्वर्ड विश्वविद्यालयद्वारा सञ्चालित करिब ८५ वर्षदेखि चलिरहेको ‘हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट’ अनुसन्धान परियोजनाबारे विवेचना गरौं। यस अनुसन्धानले सन् १९३८ मा ७२४ किशोरलाई समावेश गरिएको थियो। जसमध्ये ६० जना अझै जीवित छन्। अध्ययनअनुसार मानिस खुसी हुने नहुने निजको जिनबाट नै मोटामोटी निर्धारित हुन्छ। तर यसको अर्थ मानिसले खुसीको स्तर बढाउनै सक्दैन भन्ने होइन। अनुसन्धानले करिब ४० प्रतिशत मानिसको खुसी तिनीहरूले के गर्ने के नगर्ने भन्ने विषयको छनोटमा आधारित हुन्छ भन्ने सुझाव दिएको छ। अध्ययनले जोडी, परिवार, साथीहरू र सामाजिक सञ्जालबीचको बलियो सम्बन्ध फेला पारेको छ। ‘व्यक्तिगत सम्बन्धले मानसिक र भावनात्मक संवेग सिर्जना गर्छ, जुन स्वाभाविक हो भने एकलकाँटे हुनु अस्वाभाविक हो’, अध्ययनका निर्देशक डा. रोबर्ट वाल्डिंगर भन्छन्।
अध्ययनले खुसीका लागि सकारात्मक सम्बन्धहरूमा ध्यान दिनुपर्छ भन्ने कुरालाई जोड दिन्छ। हामी सम्बन्धमा कति खुसी छौं भन्ने कुराले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्छ। शरीरको हेरचाह गर्ने, अरूसँग न्यानो सम्बन्ध राख्नेहरू लामो र खुसी जीवन बाँच्छन्। ‘तर एक्लोपनले मार्छ, यो धूमपान जत्तिकै घातक छ’ वाल्डिंगर भन्छन्। अध्ययनका अनुसार ५० वर्षको उमेरमा सम्बन्धमा सबैभन्दा बढी सन्तुष्ट व्यक्तिरू ८० वर्षको उमेरमा सबैभन्दा स्वस्थ थिए। पैसा वा प्रसिद्धिभन्दा नजिकको सम्बन्धले मानिसलाई जीवनभर खुसी राख्छ।
ती सम्बन्धले मानिसलाई असन्तुष्टिबाट जोगाउँछन्, अनुमान गरेभन्दा लामो र सुखी जीवन हुने अध्ययनले देखाएको छ। हाल विदेश पढ्न जानेर खाडी मुलुकमा खुसी खोज्न जानेहरूको लर्को पनि लामै छ। यसरी बिदेसिनेमा स्वेच्छिकभन्दा बाध्यात्मक कारण बलियो छ। अध्ययनको निष्कर्षअनुसार यिनीहरूमा सार्थक खुसी हुने कुरै भएन।
अध्ययनले खुसी र आफन्तजनसँगको घनिष्ठ सम्बन्धबीच बलियो सम्बन्ध देखाएको छ। आफन्तजन गुमाउँदा वा घरबाट टाढिनु पर्दा सार्थक खुसी कल्पना मात्रै भएको छ। किसानहरू बीउबिजन, मलखाद, सिँचाइको सुविधाका लागि सधैंजसो संघर्षरत छन्। उचित मूल्य नपाएकाले तरकारी र दूध बाटोमा फालेर विरोध जनाइरहेका छन्। अर्कोतर्फ, उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् र पनि खुसी छन्। त्यसैले हाम्रो खुसी सार्थक खुसी पक्कै होइन। सार्थक खुसीको पहल व्यक्तिगत स्तरबाटै हुनुपर्छ। धेरै राष्ट्रका अनुभवले उच्च कुल गार्हस्थ्य उत्पादन र उच्च प्रतिव्यक्ति आय भएका देशहरू सबैभन्दा खुसी छैनन् भन्ने प्रष्ट भइसकेको छ। खुसीको सम्बन्ध कानुनी शासन, सार्वजनिक सेवा र नागरिकको दैनिक जनजीविकाको व्यवस्थापनसँग हुन्छ।
तसर्थ, रोजगारी सिर्जना गर्न देशभित्र उद्यमशीलता विकासको लागि थप प्रभावकारी काम गर्नुपर्छ। पर्यटन, यातायात, सार्वजनिक सेवा, र कृषिको उचित व्यवस्थापन गरिनुपर्छ। आयात प्रतिस्थापनको लागि स्वदेशी उत्पादन वृद्धिसँगै हरित ऊर्जाको प्रयोगमा बढोत्तरी गर्नुपर्छ। यस्ता केही काम गर्न सक्ने हो भने नेपाल समृद्ध भई नेपाली सुखी हुनेछन् र नेपालीको खुसी वास्तवमा सार्थक खुसीमा रूपान्तरण हुनेछ।
उद्यमशीलता विकासमा पीएचडी यादव व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर हुन्।