चीनबाट वर्षमानको प्रचण्ड र देउवालाई टेलिफोन
काठमाडौं : चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन सम्बाद गरेका छन्। पुनले सोमबार उनीहरूसँग टेलिफोन सम्बाद गरेको उनको सचिवालयले जनाएको छ।
दोस्रोपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई नेता पुनले बधाई दिएका थिए। पुनले राजनीतिक स्थायित्व, संविधानको रक्षा र जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी सिर्जना गर्नेगरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने सुझाव दिएका थिए।
‘को प्रधानमन्त्री र को मन्त्री बन्ने भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन। व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन्,' उनले भनेका थिए।
उनले कांग्रेस सभापति देउवासँग प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको बताए। 'हामी सँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ। यसलाई सफल पार्न दुई नेता र पार्टीले देश र जनातको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाउनुपर्छ,' उनले भने।
जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरूले विश्वस्त रहेको बताएका थिए। 'ढुक्कले यो गठबन्धन पाँच वर्ष जान्छ। तपाईँहरू नआत्तिनुस्। हामी दुई नेताबीच आपसमा विश्वासको वातावरण बनाउँछौं,' उनले भने। प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका थिए।
स्वास्थ्यमा चमत्कारिक सुधार
जटिल प्रकारको बंशाणुगत जण्डिशबाट पीडित पुन ब्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए। ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मतदातासमक्ष मत माग्नसमेत जान सकेका थिएनन्। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। पुनसँग पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती छिन्।