तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

काठमाडौं : तनहुँको बन्दीपुर गाउँपालिका–६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुस्वाले संयुक्त रूपमा सबस्टेसनको उद्घाटन गरे।
आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ।
प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु्र्याउने १९ किलोमिटर लामो ३३ केभीलाइन पनि निर्माण पूरा भएको छ। यसमध्ये १ हजार १ सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो।
आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन्।
सराङघाट सबस्टेसनमा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका ३ फिडर लाइन निकालिएको छ। एउटा फिडर जगेडामा राखिएको हो।
सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ। यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन्।
दुईवटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो।
करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो। आयोजनाबाट २ सय २० किलोमिटर फिडर लाइन र ३ सय ५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
