संकटमा आरन पेसा

संकटमा आरन पेसा
सुन्नुहोस्

रुकुमपूर्व : परम्परादेखि दलित समुदायले गर्दै आएको आरन पेसा संकटमा पर्दै गएको छ। बढ्दो वैदेशिक पलायन, सामाजिक बहिष्कारको प्रभाव, आधुनिकीकरणको असर र पुस्तान्तरणको कमीले गर्दा यो पेसा संकटमा पर्दै गएको हो। 

रुकुमपूर्वका आरन व्यवसायी भने उच्चतम् प्रविधिको प्रयोग गरी सुधारात्मक र भरपर्दो बजारको खोजीमा रहेका छन्। 

जिल्लाको सिस्ने गाउँपालिका-२ का उद्यमी हर्कवीर कामीले यसै पेसाबाटै गुजारा चलाएका छन्। आफूलाई किशोरावस्थादेखि नै आरन चलाउने ज्ञाण र सीपको पुस्तान्तरण भएको उनी बताउँछन्। उनको अहिले सिस्नेको प्वाङमा आरन व्यवसाय छ भने सदरमुकाम सिस्नेको छिप्रीदहमा आरन उद्योग छ। 

उनी जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयबाट हुने आरन बनाउने तालिमको सहजीकरण समेत गर्दै आएका छन्। ‘यो पेसा पुँजीको एउटा आधार बनेको छ,’ उनले भने, ‘तर, विडम्बना नयाँ पुस्तामा यो पेसा पुस्तान्तरण हुन सकेन।’ 

युवाहरू दैनिक रूपमा पलायन भइरहेका छन्। यो पेसा जातीय संरचनाले हिनताबोध हुनु, पुरानै प्रविधि, तरिकाले फलामका कामकाज गर्नुपर्ने हुँदा पेसा पुस्तान्तरण हुन सकेको छैन। 

यसलाई सरकारले मुख्य प्राथमिकतामा राखी नयाँ प्रविधिको विकासमा उद्योग स्थापना वा उद्यमीलाई प्रोत्साहन गर्दै जानुपर्ने कामी बताउँछन्। यसो नहुँदा आधुनिक गुणस्तर नभई अहिलेको बजारसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था छ।। 

भूमे गाउँपालिका-८ कुचिवाङका सर्जन विकले आरणको पुरानो शैलीबाट बनाइने भाँडाकुँडाले बजारमा निश्चित मूल्य नपाउने र शारीरिक परिश्रम बढी लाग्ने भएकोले यस पेसालाई सुधार गर्दै लैजानुपर्ने बताए। पुथाउत्तारगंगा गाउँपालिका-९ खाराबाङका धनीलाल कामीका अनुसार आरन पेसालाई समाजमा अहिले पनि घृणा र तिरस्कारको दृष्टिले हेर्न छोडिएको छैन। 
‘गाउँघरमा उद्योग व्यवसाय पनि छैनन्। यो पेसा पनि लोप हुँदै गइरहेको छ’, उनले भने। 
सिस्ने गाउँपालिका-५ टाकुरामा आरन व्यवसायलाई व्यवस्थित बनाउन सरकारले लगानी गर्दै आएको छ। तर, यस ठाउँमा पनि यो पेसामा पुरानै पुस्ता सहभागी छन्। 

नजिकै बजार भए पनि निर्माण गरिएका भाँडाकुँडा बजारमा बिक्री नभई गाउँघरमै कारोबार भइरहेको व्यवसायी कुलबहादुर विकले सुनाए। गाउँघरमा यसको निश्चित मूल्य पनि नभएको बिक्री गर्न समस्या हुने उनले सुनाए। 

जिल्लाको घरेलु तथा साना उद्योग विकास कार्यालयले युवालाई लक्षित गरेर दोस्रो लेभलको तालिम सञ्चालन गरेको छ। यसबाट  जिल्लाका १० जनाले सीप सिकिरहेका छन्। यसअघि पहिलो चरणको आधारभूत तालिम प्रदान गरिएको थियो। त्यस तालिममा सहभागी केही युवा पेसालाई निरन्तरता नदिई वैदेशिक रोजगारमा पलायन भएका छन्। 

अहिले युवालाई लक्षित गरिएको यस तालिममा युवाको उपस्थिति न्यून छ। रुकुमपूर्वका तीन गाउँपालिकाले पनि सुरुदेखि नै आरन व्यवसाय व्यवस्थित गर्न भवन निर्माणलगायत सामान्य औजार उपकरण वितरण गर्दै आएको छ।

घरेलु कार्यालय रुकुमपूर्वले अहिलेसम्म जिल्लामा आरन व्यवसाय सुधारकै लागि भनेर दुई पटक गरी ८ लाख रुपैयाँ बजेट खर्चेको  जनाएको छ। कार्यालय प्रमुख मधुकर डाँगीका अनुसार कार्यालयबाट दुई आर्थिक वर्षमा परम्परागत आरन तालिम सञ्चालन गरिएको थियो। 

तर सरकारको उद्देश्यअनुसारको लक्ष्य प्राप्ति नभएको उनले बताए। यस पेसालाई आधुनिकीकरण र थप प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा प्रमुख डाँगीले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.