बेनीमा अव्यवस्थित तार हटाउन सुरु
बेनी : म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन सुरु भएको छ। बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर उपयोगविहीन अव्यवस्थित तार हटाउन थालेको जनाएको छ।
नगरप्रमुख सुरत केसीले बजारको सौन्दर्यकरणमा असर गरेका र जोखिमयुक्त अव्यवस्थित तार हटाउन थालिएको जानकारी दिए।
‘विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै सौन्दर्यमा पनि असर परेको छ,’ उनले भने ‘सेवा प्रदायक कम्पनी र संस्थाहरूको सहभागितामा अव्यवस्थित तार हटाउन सुरु गरेका छौं।’
जिल्ला प्रहरी कार्यालय अगाडिको चोकमा मंगलबारदेखि अव्यवस्थित तार हटाउन थालिएको हो।
जनप्रतिनिधि, नगर प्रहरी, विद्युत् प्राधिकरण, टेलिकम र इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी तथा संस्थाका प्रतिनिधिहरूले प्रयोगविहीन तार पहिचान गरेर त्यसलाई पोलबाट निकाल्न थालेका हुन्।
वर्षौ पुराना र काम नलाग्ने तारको गुजुल्टाले विद्युतका पोल फेटा गुटाएको जस्तो भएका छन्। जसका कारण विद्युत् पोलमा भार बढेको छ। लत्रिएका तारमा सवारी साधन अल्झिने र पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ।
प्रयोग हुन छाडेका तार नहटाउने तर नयाँ तार थपिने क्रम बढेपछि बजार अव्यवस्थित बनेको थियो। अव्यवस्थित तारका कारण विद्युत, टेलिफोन, केवुल, सडक वक्ति, सीसीटीभी र इन्टरनेट सेवा अवरुद्ध हुँदा मर्मतमा समस्या भएको बजारवासीले बताएका छन्।
प्राधिकरण र तार प्रयोग गरेका केवुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूसँग नगरपालिकामा विभिन्न चरणमा अव्यवस्थित तार हटाउने सम्बन्धमा छलफल भएको थियो।
पब्लिक भिजन केवुल नेटवर्क सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले २० वर्षदेखि असरल्ल परेका तार हटाउने काम थालिएको बताए।
‘बेनी बजारलाई सुन्दर र सुरक्षित बनाउने अभियानमा सेवा प्रदायक संस्थाहरूले पनि साथ दिएका छौं,’ उनले भने ‘सबै सेवा प्रदायक संस्थाहरूबाट एक एक जना जनशक्ति परिचालन गरेका छौ। १५ दिनभित्र काम नलाग्ने तार हटाउने र व्यवस्थित गर्ने लक्ष्य छ।’
म्याग्दीमा नेपाल टेलिकमका साथै दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन्।