बसले ठक्कर दिँदा मुस्ताङमा ७६ वर्षीया वृद्धाको मृत्यु
जोमसोम : मुस्ताङमा एकैदिन दुईवटा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङस्थित प्रहरी चेकपोस्ट नजिक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
तनहु रिसिङ गाउँपालिका-८ का नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-४ बस्ने ७६ वर्षीया खिनुमाया श्रेष्ठको भे १ ख २७५४ नम्बरको बसको ठक्करबाट घाइते भई उपचार गर्न लैजाने क्रममा म्याग्दीको बेनी अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
नवलपरासी पूर्व गैंडाकोटदेखि छिमेकी र आफन्तसहित मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आएकी महिलाको टोली कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने क्रममा मंगलबार दिउँसो करिब २ बजेको समयमा बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्।
छुसाङको चेक पोस्ट नजिक पिसाप फेर्न बसबाट झर्ने क्रममा वृद्धलाई बसले ठक्कर दिई घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए।
बस र बसका चालक ४२ वर्षीय चाँगुनारायण सुवेदीलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
त्यस्तै मंगलबार जोमसोम-मुक्तिनाथ सडकखण्डको वारागुङ-१ खिङ्गामा बसको ठक्करबाट अर्को एक महिला घाइते भएकी छन्। मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा बा ४ ख ८९१७ नम्बरको बसको ठक्करबाट वारागुङ-१ खिङ्गा बस्ने ५१ वर्षीया महिला कार्तिक गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सुवेदीले जानकारी दिए।