पोखरियामा आतंक मच्चाउने चितुवा नियन्त्रणमा
वीरगन्ज : पर्साको पोखरियामा मंगलबार रातिदेखि आतंक मच्चाएको चितुवा बुधबार साँझमात्र नियन्त्रणमा आएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले बुधबार साँझ ६ बजेतिर डार्ट (बेहास पार्ने सुई) हानेर चितुवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।
पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट बाटो बिराएर खेत हुँदै मध्यरातमा गाउँ छिरेको चितुवाको आक्रमणबाट पोखरियामा एक प्रहरी जवानसहित तीन जना घाइते भएका थिए। चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका थिए।
आक्रमणकारी चितुवा नियन्त्रणका लागि बुधबार बिहानैदेखि प्रयास गरिएको भए पनि साँझमात्र नियन्त्रणमा आएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।
सतवरिया गाउँका स्थानीय शंकर प्रसादको खरको घरमा बिहानैदेखि लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले प्रयास गरे पनि नियन्त्रणामा लिन असफल भएका थिए।