लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै
बुटवल : माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक अहिले बुद्धजन्मस्थल लुम्बिनीमा बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक परिदृश्यका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सरकारमा सहभागी छ । सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
‘सरकारलाई दिएको समर्थन फिर्तासहितका नयाँ सरकार गठनका विषयमा छलफल गर्न बैठक बस्दैछ,'उनले भने । लुम्बिनीको एक होटलमा बैठक बस्न लागेको हो ।
सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा नयाँ सरकार बन्दा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने दावी छ । कांग्रेसबाट पनि सरकारमा दाबी रहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।