उदयपुरको त्रियुगाका ५० परिवारलाई निःशुल्क घर
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा पहिलो पटक ५० वटा बाँसको घर निर्माण गरिने भएको छ। यहाँका अतिविपन्न परिवारलाई लक्षित गरी निःशुल्क बाँसको घर निर्माण कार्य सुरु गरिएको छ।
नगर क्षेत्रका भूमिहीन, सीमान्तकृत, अतिविपन्न, दलित तथा निम्न आयस्रोत भएका परिवारलाई लक्षित गरी ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनल र त्रियुगा नगरपालिकाको सहयोगमा पार्टनर संस्था हुरेण्डेक उदयपुरले ‘सुरक्षित आवास गृह’ को निर्माण कार्य सुरु गरेको हो
त्रियुगा नगरपालिका-४ वगाहाका निरुमाया कार्कीको निर्माण गर्न लागिएको घरको मेयर वसन्तकुमार बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त शिलान्यास गर्दै परियोजना सुरु गरिएको हो।
संस्थाले वगाहामा शिवशक्ति टोल सुरक्षित आवास परियोजना उपभोक्ता समिति गठन गरी २० वटा घर निर्माण कार्य सुरु गरेको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए।
त्यसैगरी त्रिनपा ३ चाँपमा १८ र बाँकी १२ वटा अन्य वडामा तत्काल बेसलाईन सर्बे गरी निर्माण कार्य सुरु गरिने उनले बताए।
अध्यक्ष थापाले भने, ‘वगाहामा गरिएको बेसलाईन सर्बेले २० ठाउँ उपयुक्त देखाएको छ, योसँगै अन्य वडामा हेर्छौ जहाँ नभई नहुने अवस्था छ त्यस्तो ठाउँमा नगरपालिकाको समन्वयमा काम अघि बढाउँछौं।'
एक किचनसहित दुई वटा कोठा तयार हुने घरको लागत जनश्रमदानसहित ५ लाख ३८ हजार लाग्ने उनले बताए। अध्यक्ष थापाले भने, ‘त्यसमध्ये दुई/दुई लाख संस्था र नगरपालिकाले गरी चार लाख बाँकी श्रमदानवापत उपभोक्ता समिति र सम्बन्धित घरधनीको लाग्ने छ।'
संस्थाका इन्जिनियर धुर्व कार्कीले श्रमदानवापत माटो खन्ने, केही अदक्ष कामदार लगाउने, घरमा लाग्ने ब्लक उपभोक्ता समितिले स्थानीय स्तरमा नै तयार गर्नुपर्ने बताए।
उनका अनुसार बगाहामा १० जना दक्ष र १५ जना अदक्ष कामदार परिचालन गरी एक महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ।
३५ वर्ष आयु रहेको घर भुकम्प, जंगली जनावार, हावापानीबाट सजिलै जोगिन सकिने ह्याबिट्यान्टका इन्जिनियर विकास घिमिरेले बताए। घरको शिलान्यास गर्दै मेयर बस्नेतले नगर क्षेत्रका सबै जनताको सुरक्षित तवरबाट बस्न पाउने अधिकार संविधानद्वारा प्रद्धत अधिकार भएकाले कमजोर परिवारलाई नै लक्षित गरिएको बताए।
उनले घर निर्माण कार्य सर्वसाधारणको जनजीविकाको सवाल भएकाले रोजगारीको अवसर र स्थानीय बाँस अधिकतम प्रयोगमा आउनेमा ढुक्क रहेको बताए। उनले भने, ‘सर्वसाधारणलाई १२ महिनै घाम पानी र आँधी हुरीबाट बचाई राख्न सुरक्षित आवास गृह निर्माण सुरु गरेका हौं।'
उपमेयर महेश्वरी राईले नगरपालिकाको पहिलो दायित्व भनेकै अव्यवस्थितलाई व्यवस्थित गर्ने भएकाले ५० वटा घरले तत्काल सम्बोधन हुने बताए। उनले भनिन्, ‘जो गरिब, असाह्य छ, त्यस्तालाई प्राथमिकता राखेर घर निर्माण कार्य सुरु गरेका छौ, आशा छ यो कार्यक्रमको प्रभावकारिताले आगामी वर्ष थप घर बनाउन सहज पुग्ने छ।'