समूहमार्फत आत्मनिर्भर बन्दै महिला
समूहको कोष बढाउन वर्षौंदेखि बाँझो जमिनमा महिलाहरूले सामूहिक तरकारी खेती र माछापालन।
अछाम : अछामको साँफेबगर नगरपालिका–१० घुघुरकोटमा प्रगतिशील आत्मनिर्भर समूह छ। यो समूहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षजस्ता पद छैनन्। सबै सदस्य समान छन्। समूहमा सबै महिलाहरू सदस्यहरू छन्। वडाका अति विपन्न महिलाहरूले बनाएको समूह हो यो। समूहको बैठक महिनाको चार पटक बस्छ। प्रत्येक बैठक फरकफरक सदस्यले अध्यक्षता र सञ्चालन गर्ने गर्छन्। यसो गर्दा सबै महिलाहरूको बोल्ने सक्ने क्षमता बढ्ने समूहकी सदस्य मोतीकला विकले बताइन्। उनले भनिन्, ‘विगतमा थुपै समूहहरूमा बस्यौ। हुनेखाने महिलाहरूले मात्र अवसर लिन थाले। समूहका अध्यक्ष, सचिव, कोषाध्यक्षहरूमा तिनै नाम चलेका महिलाहरू बस्न थाले र गरिब दुःखी महिलाको नाममा ती महिलाले अवसर लिन लागे। हामीजस्ता पछाडि पारेका अरू सदस्यहरू बोल्ने, भन्ने र विभिन्न गोष्ठी, सीपमूलक तालिम अवरसरबाट वञ्चित हुन थाले। त्यसैले हामीले सबै समान भन्ने नारा बनाएर सदस्यमात्र रहने समूह बनाएका छौं।’
साँफेबगर नगरपालिकाको वडा नम्बर २, १० र १३ मा यस्ता समूहहरू गठन गरिएको छ। यी वडाहरूमा ८-८ वटा समूह छन्। समूहमा महिलाहरू मासिक ५ देखि २५ रुपैयाँ बचत गर्ने गर्छन्। बचत गरेको रकम समूहका सदस्यहरूका बालबालिकालाई विद्यालय भर्ना, शैक्षिक सामग्री किन्न, औषधि उपचार गर्न, तरकारी खेती, बाख्रापालन र अन्य आयआर्जनको कामका लगानी गर्ने गरेको सानपा-२ जाल्पादेवीकी लालीगुराँस आत्मनिर्भर समूहकी सदस्य अवि विकले बताइन्। उनले भनिन्, ‘समूहबाट एक सय रुपैयाँ लगेर टमाटरको बेर्ना किने। टमाटर बेचेर १० हजार आम्दानी भयो। एक रुपैयाँ पनि नपाउने हामी साँझबिहान छाक टार्ने मुस्किल थियो। अहिले त्यो अवस्था छैन। समूहबाट पैसा लगानी गरेर थोरै तरकारी खेती गरेको छु। श्रीमान्समेत भारतबाट घर फर्केका छन्। श्रीमान्लाई यतै सुखदुःख गरौंला भारत नजानू भनेर भन्छु।’
समूहमा बचत भएको रकम सस्तो ब्याजदर एक प्रतिशतमा लगानी गर्ने गरेका छन्। हप्ताको बैठकमा २५ रुपैयाँ बचत गर्ने गरेको र कोषमा १७ हजार ७ सय ९० रुपैयाँ बचत रहेको सानपा—१३ बाब्लाकी उज्याली समूहकी सदस्य नरु बटालाले बताइन्। उनले भनिन्, ‘समूहमा बचत गरेको रकम विभिन्न सानो सानो व्यवसायका लागि लगानी गरेका छौं। मैले गाउँमा सानो खुद्रा पसल चलाएको छु। अहिले सानो तिनो रकमका लागि श्रीमान्लाई माग्नु पर्दैन, घर खर्चसमेत चलेको छ।’ दुई मान्छेको अगाडि आफ्नो परिचय र बाल्न नसक्ने महिलाहरू अहिले निर्धक्कसँग परिचय र आफ्ना कुरा राख्न सक्ने भएका उनले बताइन्। महिलाहरूले समूहको बैठकमा समुदायका घट्ने महिला हिंसा, तिनका प्रकार र गाउँघरमा महिला महिलाहरूबीच हुने विवादको बिषयमा समेत छलफल गरी मेलमिलाप गराउने गरेका बटालाले बताइन्। समूहको कोष बढाउनका लागि सानपा—२ का महिलाहरूले सामूृहिक तरकारी खेती र माछापालनको समेत सुरुवात गरेका छन्। वर्षौंदेखि बाँझो जमिनमा तरकारी खेती सुरु गरेको गतिशील आत्मनिर्भर समूहकी सदस्य अनिता परियारले बताइन्। उनले भनिन्, ‘भर्खर सुरु गरेका छौं। एक रोपनीमा तरकारी लगाएका छौं। अहिले प्याजको सिजन भएकाले प्याज लगाएका छौं। विस्तारै राम्रौ भयो भने बढाउदै लैजाने योजना छ।’ समूहमा १५ देखि ३० जना महिलाहरू आबद्ध छन्।