अर्थतन्त्रमा अप्रेशन चाहिएको छ, तर झारफुक गरिँदैछ : बाबुराम भट्टराई
वीरेन्द्रनगर : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली अर्थतन्त्रमा ठूलो अप्रेशनको खाँचो रहेको बताएका छन्। शनिबार पार्टीको कार्यक्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका पूर्व प्रधानमन्त्री भट्टराईले नेपाल समाजबादी पाटी कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।
उनले आफू अर्थमन्त्री हुँदा नै अर्थतन्त्रमा अहिलेको अवस्था आउने अवस्था देखेको बताउँदै पछिल्ला राजनीतिक नेतृत्वहरु यसप्रति गम्भीर नभएको टिप्पणी गरे। उनले भने, 'हाम्रो अर्थतन्त्र निकै कमजोर जगमा अडिएको छ। यो जुनसुकै बेला भयाबहको अवस्थामा पुग्न सक्छ। परम्परागत खेती प्रर्णालीबाट गुज्रिएको नेपाली समाजलाई औद्योगिक प्रर्णालीमा रुपान्त्रण गर्नु आवश्यक हो। त्यसप्रति मुलुकको मुख्य नेतृत्व चुकिरहेको छ। जसका कारण अहिलेको अवस्था सिर्जना भएको हो।'
उनले नेपाली अर्थतन्त्रमा गम्भीर अप्रेशनको खाँचो रहेको बताए। उनले भने, 'गाँउमा मानिसहरु बिरामी हुँदा अस्पताल नगएर धामी झाँक्रीसँग झारफुक गर्छन्। जसका कारण बिरामीको अकालमा ज्यान जान्छ। त्यस्तै मुलुकको नेतृत्वले पनि अर्थतन्त्र गम्भीर बिरामी भएका बेला झारफुक गरिरहेका छन्। यसले ठूलो दुर्घटना निम्त्याउने छ। अहिले अर्थतन्त्रमा क्यानसर देखिसकेको छ। यो क्यानसर अप्रेशन नगरी सन्चो हुनेछैन। तर सरकारले झारफुक गरेर समस्या समाधान गर्न खोजिरहेको छ। यसरी समस्याको समाधान हुँदैन। बरु अर्थतन्त्रलाई थप जटिल मोडमा पुर्याउनेछ।'
उनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या अहिलेको गठबन्धनभित्र गम्भीर ढंगले छलफल गरेर आवश्यक कदम चाल्नुपर्ने बताए। उनले संविधानले मुलुकलाई संघीयतामा लिएर संघ, प्रदेश र स्थानीय तह तीन तहमा अधिकार बाँडेको भएपनि कार्यन्वयन चरणमा केन्द्रकै नियन्त्रणमा प्रदेश र स्थानीय तह हुनु दुखद भएको बताए।
उनले भने, 'संघीयताको कार्यन्वयनमा विगतका सरकार चुकेका छन्। अहिलेको गठबन्धनले संघीयतालाई मजबुत गर्नेगरी कानुन निर्माण र कार्यन्वयनलाई जोड दिनेछ। यसविषयमा छलफल पनि भएको छ। संघीयताको सफल कार्यन्वयनले नै नागरिकहरूलाई संघीयताप्रति सकारात्मक बनाउने छ।'