सुनको कारोबार ठप्प, नक्कली गहनाको माग बढ्दो

सुनको कारोबार ठप्प, नक्कली गहनाको माग बढ्दो
सुन्नुहोस्

उदयपुर : दैनिकजसो सुनको मुल्य बढेसँगै उदयपुरमा विगत दुई वर्षयता सुनको कारोबार ठप्प भएको छ। 

सुनप्रतिको आकर्षण यथावत रहे पनि अत्यधिक मूल्यवृद्धि र आर्थिक मन्दीले ग्राहकको क्रयशक्ति घटेपछि कारोबार ठप्प भएको हो। 

सुनको कारोबार नहुँदा व्यापारीहरू दिनभर हाई काडेर बस्ने गरेका छन्। विशेषगरी चाडपर्व र विवाह उत्सवका महिनामा सधैजसो भिडभाड हुने सुनपसल आर्थिकमन्दीले हिजोआज सुनसान देखिन्छन्। 

उदयपुर सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष गजेन्द्र बराइली भन्छन्, ‘सिजनमा दैनिक ७/८ तोला सुन बिक्री हुँदा ९/१० लाखसम्म कारोबार हुने गरेकोमा अहिले १० हजार हुनसमेत गाह्रो छ,' उनले भने, ‘सुन बिक्री ठप्प छ, पुराना गहनाहरू कुच्याएर ग्राहकका रोजाइका डिजाइन अनुसार बनाएर दिन कटाउने मेलो भएको छ।' 

सदरमुकाम गाईघाट मात्र नभई व्यापारिक केन्द्र कटारी, घुर्मि, मुर्कुची, बेल्टार, जलजले र रामपुर ठोक्सिलामा रहेका सुन पसलको हालत पनि उस्तै छ। उदयपुरका मात्र नभई खोटाङ, ओखलढुङ्गा र भोजपुर जिल्लाका सर्वसाधारणले समेत सुनको कारोबार गर्ने यी बजार सुनसान छन्। 

बराइली भन्छन्, ‘३/४ वर्षअघिसम्म सुन सस्तो हुँदा विवाह लगनका लागि अगाडि नै प्रसस्तै किनेर गहना बनाउने चलन थियो, हिजोआज सीमित मात्र खरिद गरेर टार्ने गरेका छन्।' उनले थपे, ‘विवाह लगनको सिजनमा सुनको मुल्य बढ्ने भन्दै अफ सिजनमा काँचो सुन गच्छेअनुसार किनेर राख्ने र आवश्यक परेको बेला गहना बनाउने चलन थियो, तर ति सबै एकादेशको कथा जस्तो भएको छ।' 

अत्यधिक मूल्य वृद्धिसँगै बजारमा सुनको माग ह्वात्तै घटेको उनको भनाइ छ। ‘दुई वर्ष अघिसम्म यो समयमा खाना खाने फुर्सद हुँदैनथ्यो, तर यसपटक दिनभरमा दुई जना ग्राहक पनि आउँदैनन्,' उनले भने। 

‘सुनसँगै बजारमा हरेक चिजको मूल्य बढेकाले कारोबार ठप्प भएको हो', अर्का व्यवसायी ध्रुव साहले भने, ‘दैनिक उपभोग्य वस्तुको खरिदमै बढी रकम खर्च गर्नु परेपछि बिलासिताको वस्तुमा पर्ने सुनको कारोबारमा मन्दी आउनु स्वभाविकै हो।'

अत्यावश्यक वस्तुको खरिदमै रकम खर्च हुने भएकाले ग्राहकले सुन खरिदका लागि रकम सञ्चित गर्न नसकेको उनको भनाइ छ। 

दुई वर्षअघि माघ र फागुन दुई महिनामा २/३ करोड भन्दा बढीको सुनको कारोबार गरेका बराइलीले यस पटक दुई महिनामा १० लाखको कारोबार पनि नभएको सुनाए। 

‘फागुन महिना बित्यो, 'अर्का व्यवसायी इन्द्रनारायण साहले भने, ‘गत वर्षको तुलनामा यो वर्ष कारोबार ठप्पै अवस्था छ।' सुनको मूल्य प्रति तोला एक लाख ६ हजार रुपैयाँको हाराहारीमा पुगेपछि सुनको रहर गर्ने महिलाहरू हिजो आज विकल्पमा नक्कली गहना लिने गरेका छन्। 

आर्थिक मन्दी र मुल्य वृद्धिले गहना बनाउन ग्राहाक नआएपछि बजारमा पाइने नक्कली गहनाको माग बढ्दै गएको व्यापारी बताउँछन्। 

साह भन्छन्, ‘झट्ट हेर्दा सुन नै देखिने, राम्रो डिजाइन, सस्तो पनि हुने र ग्यारेण्टी पनि हुने भएकाले नक्कली गहना प्रति ग्राहक आकर्षित भएका हुन्।' 

गाईघाट बजारकी सम्झना अधिकारीले भनिन्, ‘सस्तो मूल्यमा पाइने नक्कली गहनाहरू हेर्दा सुनजस्तै देखिने र नयाँ नयाँ डिजाइन हुने भएकाले महिलाको रोजाइमा परेको हो।' 

सक्कली गहना चोरीको भय हुने र खरिद गर्नपनि गाह्रो हुने गरेकाले सस्ता गहना लगाउनेहरू निर्धक्क हुने उनको तर्क छ। अधिकारीका अनुसार सक्कली गहना हुने महिलाले पनि चोरी हुने डरले भिडभाडमा जाँदा नक्कली सस्ता गहना नै बढी प्रयोग गर्छन्। 

विगत ५ वर्षदेखि गाईघाट बजारमा सस्ता गहना बिक्री गर्दै आएका व्यापारी लालबाबु गुप्ताका अनुसार सुनको मूल्यवृद्धि पछि सस्ता गहनाको व्यापार ह्वात्तै बढेको छ।

६ महिनाको ग्यारेन्टी सहितका यी गहना बढी मात्रामा भारतबाट आयात हुने गरेका छन्। ‘सुन किनेर लगाउन नसक्ने महिलाले पनि हेर्दा सुनजस्तै देखिने, सस्ता र ग्यारेन्टीसहितका यी गहना लगाएर आफ्नो इच्छा पूरा गर्न पाएका छन्', उनले भने, ‘यस्ता गहना लगाउने महिलाले चोरीको भय खेप्नु पर्दैन।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.