सुत्केरीलाई भाले उपहार
बेनी : म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ।
संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत भाले उपहार दिन थालेको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए।
‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौं,’ उनले भने ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहार सहित विभिन्न सन्देशमुलक अभियान सञ्चालन गरेको हो।’
तोकिएको मितिमा आठ पटक गर्भ जाँच गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई एउटा कुखुराको भाले दिने गरिएको हो।
संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्च वापत दुई हजार रुपैयाँ र गर्भ परीक्षण गर्नेलाई ८०० रुपैयाँ उपलब्ध गराउने गरेको छ। अण्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो।
पाँच वटा वडा रहेको मंगलामा वार्षिक ७०/८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन्। कुहुँ, अर्मन र बरंजा स्वास्थ्य चौकीमा प्रसूति सेवा उपलब्ध छ।
नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन्।
चालु आर्थिक वर्ष २०७९/८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाई र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताइन्।