ट्युनिसिया डुङ्गा दुर्घटना : ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता
ट्युनिसिया : उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो। डुङ्गा यूरोप छिर्ने आप्रवासी बोकेर इटालीतर्फ गइरहेको समयमा दुर्घटना भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।
संयुक्त राष्ट्र सङ्घको पछिल्लो तथ्यांक अनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो सङ्ख्या एक हजार ३०० मात्र रहेको थियो । रासस