लुम्बिनी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो
काठमाडौं : नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारबाट बाहिरिएलगत्तै माओवादीलगायत नेकपा एकीकृत समाजवादी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
माओवादीबाट मन्त्री बनेका तीनैजनाले आइतबार मुख्यमन्त्री गिरीसमक्ष राजीनामा बुझाएका थिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री बनेका थिए । गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । माघ ५ मा विश्वासको मत लिएका गिरीलाई ५८ जनाले सांसदले विश्वासको मत दिएका थिए।
माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बनेका गिरी अल्पमतमा परेका छन्। उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। लुम्बिनी प्रदेशमा ८७ सांसद छन्। बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ।
लुम्बिनीमा कांग्रेसको २७, नेकपा एमालेको २९,नेकपा माओवादी केन्द्रको १०, राप्रपाको ४,नेकपा एकीकृत समाजवादीको १,जनतमत पार्टीको ३ र नागरिक उन्मुक्तिको ४ सांसद छन्।