लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको दावी पेश
काठमाडौं : लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशभमा माओवादी केन्द्रसहित चार दलले समर्थन फिर्ता लिएपछि चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
चौधरीले प्रदेश प्रमुख शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । कांग्रेसका चौधरी,माओवादी केन्द्रका जोखबहादुर महरा,नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी,लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय,जनमतका चन्द्रकेश गुप्ता,जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर,नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी,राष्ट्रिय जनमोर्चाका तारा थापा र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतले हस्ताक्षर गरेर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन् ।
माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा परेका छन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ ।
लुम्बिनीमा कांग्रेसको २७,नेकपा एमालेको २९,नेकपा माओवादी केन्द्रको १०,राप्रपाको ४,नेकपा एकीकृत समाजवादीको १,जनतमत पार्टीको ३ र नागरिक उन्मुक्तिको ४ सांसद छन् ।