सार्वजनिक जग्गा उत्खनन गर्ने टिप्पर र स्काभेटर महानगरले नियन्त्रणमा लियो
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटर र टिप्पर नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका-२८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनादेखि अवैध रूपमा उत्खनन गर्दै आएको सूचनाका आधारमा आइतबार महानगरको नगर प्रहरीले तीनवटा टिप्पर र एउटा स्काभेटर नियन्त्रणमा लिएको हो।
महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषाल नेतृत्वको टोलीले ना ८ ख ४१२५, ना ७ ख ६५९७ र ना ७ ख ६६०३ नम्बरको टिपर तथा बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएर आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ।
गुठीका नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो निजी सम्पति ठानेर त्यहाँको माटो उत्खनन गरेर बिक्री गर्दै आएको सूचना स्थानीयले दिएपछि महानगरको टोलीले नियन्त्रणमा लिएको मेयर सिंहले बताए।
महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रूपमा प्रयोजन गर्नेलाई कारबाही गर्ने पनि बताए।
उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह पनि गरे ।
वीरगन्ज २८ का यसवा जितेन्द्र पटेलका अनुसार ददर्वा स्थित गुठीको करिब २ बिघा क्षेत्रफल भएको जग्गाको माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका थिए। त्यसका कारण ठेक्का लिएर माटो बेच्ने चन्द्रिकालाई महानगरले कारबाही गर्नुपर्ने उनको माग छ।
पटेलले भने, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरूले करिब २ महिनादेखि उत्खनन गरेर माटो बेचिरहेका छन्। उनीहरूलाई कारबाही गर्नुपर्छ, कारबाही मात्रै गरेर पुग्दैन, अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको क्षतिपूर्ति पनि उनीहरूबाट असुल्नुपर्छ।' सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलले बताए।
गुठीको जग्गामा भइरहेको अवैध उत्खनन बारे पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आरोप छ।
महुवन गुठीका नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग भइरहेको उनले बताए। उनले भने, ‘यहाँ कसैले माटो उत्खनन गरेर प्रति टिप्पर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचिरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरिरहेका छन्।’
पटेलकाअनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ। यसमा गुठीका हाकिमहरूको पनि मिलेमतो भएको पटेलको आरोप छ।