राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन्।
राष्ट्रपति पौडेलले पूर्वमन्त्री जोशी जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दु:ख बुझ्ने दर्शनबाट प्रभावित भएको स्मरण गरे। उनले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दु:ख बुझ्ने व्यक्तित्वको रुपमा आफूले नेता जोशीलाई चिनेको बताए।
उनले भने,'राजनीतिक समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दु:ख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चत अठोट प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ। जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख, दु:ख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए।'
राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित सिद्धान्तनिष्ठ कार्यकर्ताको रुपमा स्व. जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरेर लोकतन्त्रको संस्थागत विकासमा पुर्याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।