मधेशमा चैती छठको रौनक
छठको मुख्य दिन आज साँझ ब्रतालु महिला नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिँदैछन् ।
वीरगन्ज : श्रद्धा,भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मुख्य दिन सोमबार छठघाटमा पुगेर ब्रतालुहरूले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिइरहेका छन् ।
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ । जसलाई संझीया घाटे पनि भनिन्छ । छठको मुख्य दिन सोमबार साँझ ब्रतालु महिला नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिँदैछन् ।
वीरगन्जको घडीअर्वा पोखरी,रानीघाटको सिर्सिया नदी ,नगवा ,छपकैयालगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरूमा सोमबार साँझ सूर्य भगवान् र छठीमातालाई अर्घ दिन ब्रतालुहरूको भीड लागेको छ ।
सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला,गाँजर,बेसारको हरियो बेर्ना,ज्यामिर,नरिवल,सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,उखुलगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।
छठ पर्वको अन्तिम दिन सप्तमी तिथीका दिन मंगलबार बिहान ब्रतालुहरू फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवतरुपमा समापन हुन्छ । यसअघि आइतबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरूले आइतबार नै साँझ नुहाएर चोखो भइ आफ्नो कूल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएर चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।
चैती छठ पर्व शनिबारदेखि विधिवत रुपमा सुरू भएको हो । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ । चैत छठको पहिलो दिन शनिबार ब्रतालुहरूले खोला,नाला,नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भइ चोखो साकाहारी खाना खाएका थिए ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ कात्तिक र चैतमा गरी वर्षमा दुईपटक मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ । पछिल्लो समयमा छठ मनाउनेको संख्या पनि बढ्दै गएको छ ।