केपी ओलीको प्रश्न- हिमालको फेदमा ७३ करोडको कलेज स्थापना कसका लागि?
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल-चीन सीमानामा बुद्धिस्ट कलेज स्थापना गर्न लागेको भन्दै विरोध गरेका छन्। गुल्मीमा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले हिमालको फेदमा कसका लागि कलेज स्थापना गर्न लागेको भन्दै प्रश्न गरे।
'अहिले चीनको सीमानामा बुद्धिस्ट कलेज खोल्न खोजेछन्। अनि मान्छे नहुने, हिउँ पर्ने ठाउँमा कसका लागि कलेज खोल्दैछौं,' उनले भने, 'बेस्सरी मान्छे भएका ठाउँमा खोल न।'
भत्किएका कलेज बनाउन तीन करोड रकम लिन पनि गाह्रो हुने तर ७३ करोड हिमालको फेदमा खर्च गर्नु तर्कसंगत नरहेको उनको भनाइ छ।
'हामीले भत्किएको कलेज पुनर्निमाण गरौं भन्दा तीन करोड रकम लिन पनि कति गाह्रो पर्छ। तर यहाँ हिमालको फेदमा लगेर ७३ करोड खर्च गरिँदैछ। मुस्ताङमा कलेज खोल्नु तर्कसंगत पनि हुनुपर्यो,' उनले भने।