अब गाउँमै भिडियो एक्सरे
बेंसीसहर : गर्भवतीहरूले परीक्षणका लागि भिडियो एक्सरे गराउन सहर बजार धाउन नपर्ने भएको छ।
निःशुल्क गर्भ परीक्षण गराउने उद्देश्यले मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रा साउण्ड अर्थात भिडियो एक्सरे सेवा सुरु भएको छ।
मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेपछि त्यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन्।
मर्स्याङ्दी गाउँपालिका–३ मा रहेको खुदी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रा साउण्ड सेवा सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेले जानकारी दिए।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले यो सेवालाई पालिकाका ९ वटै वडामा पुर्याउने बताए। सुरक्षा मातृत्वलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्थाहरूमा सेवा सुविधा बढाउँदै लगिएको उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङका अनुसार तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर सेवा सुरु गरिएको छ।
सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रा साउण्ड उपकरण खरिद गरेर खुदी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको उनले बताए।