बेचबिखनमा परेका ९ जना युवतीको दिल्लीबाट उद्धार, तीन पक्राउ
काठमाडौं : काम लगाइदिने र आकर्षक कमाइ हुने प्रलोभनमा पारी बेचिएका ९ जना नेपाली युवतीको उद्धार गरिएको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई भारतको दिल्लीबाट उद्धार गरेको हो। बेचबिखन गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-९, की २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङ धुनबेशी नगरपालिका-२ बस्ने २५ को भुवन तामाङ र भुवन तामाङको श्रीमती २० वर्षीया शुष्मा मग्राती रहेका छन्।
अनुसन्धान ब्युरोका प्रवक्ता कृष्ण केसीका अनुसार पक्राउ परेका समूहले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्ली स्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने भनी प्रलोभनमा पारी भारतको दिल्ली पुर्याई बन्धक बनाएका थिए।
बन्धक बनाइ जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए। बन्धक पारिएका युवतीलाई प्रत्येक महिना १५० भन्दा धेरै मानिससँग शारीरिक सम्बन्ध राख्न दवाव दिने गर्दथे।
बेचबिखनमा सक्रिय गिरोहले उनीहरूलाई गत असोजमा नेपालगञ्जको जमुनाह नाका हुँदै दिल्लीको बसमा चढाएर बिक्री गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा केही युवतीलाई प्राइभेट गाडीमा राखी प्याकेट खाना तथा जुसमा बेहोस बनाउने औषधि मिसाएर बोर्डर पार गराउने खुलेको छ।
मानव बेचबिखन ब्युरोको समन्वयमा भारत स्थित नेपाली दुतावास, भारतीय सामाजिक संस्था प्क्ष्ल् क्ष्ल्म्क्ष्ब्, नेपाल स्थित शक्ति समूह एवं भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई यही चैत ७ गते उद्धार गरिएको हो।
पक्राउ परेका समूहले काठमाडौंका माछापोखरी ,बसपार्क लगायतका ठाउँहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गर्दथे।
पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराउने र उनीहरूले चलाउने सामाजिक सञ्जालको निगरानी गर्दथे। पीडित युवतीलाई सीसीटीभीको निगरानीमा राखी उनीहरूलाई देशव्यापारका लागि बाध्य पार्ने गर्दथे।
दिल्ली किशनगढस्थित पंजावीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा राखेका थिए। वेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल, घरहरूमा ट्याक्सी बुक गरी पुर्याइदिने गरेका थिए।
प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दवाव दिने र अन्य सहरमा समेत पठाउने गरेका थिए। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।