मुस्ताङका ५ स्थानमा माटोको नमूना परीक्षण
जोमसोम : मुस्ताङमा माटो परीक्षण शिविर सम्पन्न भएको छ। खेतीयोग्य जमिनको गुणस्तर मापन गर्न मुस्ताङको ४ स्थानीय तहका ५ स्थानमा माटो शिविर सञ्चालन गरिएको हो।
माटोको विद्यमान अवस्था र माटोमा भएका खाद्य तत्व नाईट्रोजन,फस्फरस र पोटासको अवस्थाका साथै माटोमा हुने अम्लियपना र छारियपनाको मापन गरी जिल्लाका कृषकलाई उपयुक्त परामर्श दिई खेतीपाती गर्न ‘स्थानीय तहमा कृषि शिविर सञ्चालन’कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र मुस्ताङले माटोको नमुना परीक्षण शिविर आयोजना गरेको हो।
कृषि ज्ञान केन्द्र मुस्ताङको वार्षिक स्वीकृत कार्यक्रम २०७९/०८० अन्तर्गत २ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो। शिविरबाट २३३ वटा माटोको नमुना परीक्षण गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।
खेतीपातीको अनुकुल मौसमसँगै जिल्लाको लोमान्थाङ गापाको लोमान्थाङ,लोघेकर दामोदरकुण्डको चराङ,घरपझोङको स्याङ र थासाङ गाउँपालिकाको कुञ्जो र टुकुचेमा अलग/अलग माटोको नमुना परीक्षण शिविर आयोजना गरिएको थियो।
माटोको नमुना परीक्षण गर्ने मिनि प्रयोगशाला ल्याब कृषि ज्ञान केन्द्रले गत वर्ष स्थापना गरेको थियो। तर, दक्ष जनशक्ति नहुँदा मुस्ताङमा मिनी माटो परीक्षण ल्याब भएरपनि माटो परीक्षण हुन सकेको थिएन।
नमुना माटो परीक्षणका लागि मल तथा माटो परीक्षण प्रयोगशाला गण्डकी प्रदेशबाट माटो विज्ञ उमेश सापकोटा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई मुस्ताङबाट माटो विज्ञ नेत्रप्रसाद भट्ट शिविरमा खटिएका थिए।
यसअघि कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लामा माटोको नमुना परीक्षणका लागि कृषकहरूको उपस्थितिमा माटो परीक्षण अभिमुखीकरण कार्यक्रम राखेको थियो।
नमुना माटो परीक्षण शिविरमा सम्बन्धित कृषकको खेतीयोग्य जमिनको नमुना माटो परीक्षण गरी माटोको अवस्था र कृषि विज्ञ मार्फत आवश्यक सल्लाह र परामर्श दिइएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।
माटोको २३३ वटा नमुना परीक्षण गर्दा अधिकांश स्थानको जमिनमा माटोमा छारियपना देखिएको कार्यालय प्रमुख बस्ताकोटीले उल्लेख गरे।
नमुना परीक्षणमा जल्लाको थासाङ गाउँपालिकाका केही स्थानका कृषकबाहेक अन्य चार पालिकाका कृषकहरूले कुनै पनि रासायनिक मल प्रयोग नगरेकाले नाईट्रोजन,फस्फरस र पोटासको मात्रा कमी देखिएको कार्यालय प्रमुख बस्ताकोटीले उल्लेख गरे।
मुस्ताङका केही स्थानका कृषकहरूले घर पालुवा पशुचौपायाहरू गोरु,झोपा,भेडा/च्यांग्रा लगायतको गोवर मल राम्रोसँग नपाक्दै खेतीबारीमा प्रयोग गर्दा खेतीपातीलाई चाहिने आवश्यक खाद्य तत्व विरुवालाई प्राप्त नभएकाले त्यस सम्बन्धी जानकारी समेत कृषकलाई शिविरमा सुझाइएको छ।
मुस्ताङका अधिकांश कृषक कृषिमा निर्भर रहे पनि कृषिजन्य वस्तु उत्पादनमा ह्रास आइरहेका बेला कृषकका लागि माटो परीक्षण शिविर ठुलो राहत मिलेको स्याङका वडाध्यक्ष फलेन्द्र थकाली बताए।
‘हामीले खेतीपाती गर्दा जुनसुकै ठाउँमा पनि गर्दै आइरहेका छौं,’ वडाध्यक्ष थकालीले भने, ‘परीक्षणपछि मात्रै माटो सुहाउँदो खेतीपाती गर्नुपर्ने रहेछ भन्ने थाहा पाइयो।’ आफ्नो खेतबारीको माटो कस्तो खालको छ भन्ने नै थाहा नपाई खेतीपाती गर्ने कृषकलाई शिविरले उपयुक्त परामर्श दिएको वडाध्यक्ष थकालीको भनाइ छ।