ईट्टा खसेर भारतीय मजदुरको मृत्यु
राजविराज : सप्तरीको रुपनीस्थित ईट्टा उद्योगमा ईट्टा निकाल्ने क्रममा दुर्घटनामा परी घाइते भएका एक भारतीय मजदुरको मंगलबार मृत्यु भएको छ । रुपनी गाउँपालिका–२ पिपराहीस्थित जेएसआर ईट्टा भट्टा उद्योगमा कार्यरत भारतको पश्चिम वंगाल कुच बिहार ग्राम पञ्चायत अठरजनीका असगर अलीको छोरा ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईट्टा निकाल्ने क्रममा चाङ्ग लगाएर ठड्याएको ईट्टाको पर्खाल भत्किएर उनीमाथि खस्दा शरिरको विभिन्न भागमा चोट लागेको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा अजिमको मृत्यु भइसकेको अस्पतालका चिकित्सकले बताएका छन् ।
मृतककी श्रीमती २८ वर्षीया मुजिना बिबी र पश्चिम वंगाल सिहमारी ग्राम पञ्चायतका २५ वर्षीय जयारुल हकको दुबै खुटामा चोट लागेको छ । घाइतेहरुको राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ ।
अधिकांश ईट्टा उद्योगहरु भारतीय कामदारहरुको भरमा नै चल्ने गरेको छ । भारतीय मजदुरहरु तालिम प्राप्त हुने र सस्तोमा पाइने हुनाले परिवारसहित नै उद्योगमा बस्ने गरेका छन् । ईट्टा उद्योग सञ्चालनमा आएपछि निरन्तर चलिरहने भएकाले स्थायित्वका लागि पनि भारतीय कामदार कै भर पर्नुपर्ने बाध्यता रहेको उद्योगीहरु बताउँछन् ।