सिसाका बोतल नष्ट गर्दै चिमाङ गाउँका महिला
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङका महिलाहरू यतिबेला पेय पदार्थ सिसाका बोतल नष्ट गर्न जुटेका छन्।
गाउँलाई प्रदूषण र फोहोर मुक्त बनाउँ उनीहरूले डोकोमै बोकेर सिसाका बोतललाई ट्याक्टरमा लोड गरी गाउँभन्दा तल निश्चित स्थानमा लगेर खाल्डो खनी पुरेका हुन्।
समुन्द्री सतहदेखि करिव ३ हजार मिटरको अग्लो उचाइमा रहेको चिमाङ गाउँलाई स्वच्छ र सफा राख्न वडास्तरको समन्वयमा सिसाको बोतल व्यवस्थापन गर्न जुटेका हुन्।
एक दर्जन महिलाले श्रमदान गरी सिसाको बोतलहरू खाल्डो खनी नष्ट गरेको वडासदस्य चक्रसिंह थकालीले जानकारी दिए। उनले गाउँभित्र जम्मा भएको एक ट्याक्टर बियरको बोतलहरू खाल्डो खनी पुरिएको बताए।
चिमाङ र छैरो गाउँलाई सिसा मुक्त बनाउन गाउँपालिकाले चालु वर्ष ५० हजार विनियोजन गरेको हो। सोही बजेटबाट चिमाङले सिसाका बोतल नष्ट गर्ने अभियान सुरु गरिएको वडासदस्य थकालीले उल्लेख गरे।
'यो सिसाको बोतल नष्ट गर्ने अभियान पालिका स्तरको भएपनि चिमाङबाट सुरु भएको हो, यसपछि छैरो गाउँले पनि गर्छ, वडासदस्य थकालीले भने, ‘गाउँपालिकाले सिसाका बोतलहरू नष्ट गर्न सबै वडालाई ५०/५० हजार रुपैयाँ पठाएको छ, अब विस्तारै अरू वडामा पनि सिसा नष्ट गर्ने कार्यक्रम सुरु होला।’
चिमाङ गाउँ राष्ट्रिय राजमार्गदेखि कालिगण्डकी पारी पूर्वको भिरालो सतहमा अवस्थित छ। त्यहाँ करिब ३५ घरधुरी बस्छन्। गाउँमा एक ग्रामीण होमस्टे र होटल छन्। चिमाङ गाउँ पर्यटकका लागि वैकल्पिक पदमार्गमा पर्छ। पदमार्ग गर्न चाहने विदेशी पर्यटक चिमाङ हुँदै तल झर्छन।
मुस्ताङको घरपझोङले पाँचवटै वडाहरूमा बियरको बोतलहरू नष्ट गर्ने अभियान सुरु गरेको हो। गाउँपालिकाले वैशाखदेखि पालिकाभित्र सिसाका बोतल प्रयोग गरिएको सामग्री बिक्री वितरण गर्न नपाइने नीति लिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए।
उनले वैशाखदेखि सिसाको बोतल राख्न र बिक्री गर्न प्रतिबन्ध लगाउने निर्णय केही महिनाअघि नै गरी सकेको बताए।