म्याद गुज्रिएका खाद्यवस्तु रिप्याकिङ गर्ने उद्योगमा प्रहरीको छापा
वीरगन्ज : वीरगन्जमा म्याद गुज्रिएका (डेट एक्सपायर) खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ।
वीरगन्ज महानगरपालिका-१३ श्रीपुर स्थित श्रवण रुङगटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एण्ड प्याक इण्डिस्ट्रजमा मंगलबार प्रहरीले छापा मारेर सिल गरेको हो।
रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सञ्चालन गरेका दुई उद्योगमा छापा मारेर सिल गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।
म्याद गुज्रिएर खान अयोग्य भएका खाद्यवस्तुहरू रिलेब्लीङ र रिप्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा मंगलबार उद्योगमा छापा मारिएको उनले बताए।
दुवै उद्योगमा गरि करिब ९१ लाख रुपैयाँ मुल्यको म्याद गुज्रिएका ड्राइ फुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुरनदाना इत्यादि) बरामद भएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्याद गुज्रिएका ड्राइफुड्सहरू मिति थपेर रिलेबलिङ र रिप्याकिङ गरि बजारमा आपूर्ति गर्दै आएको भेटिएकाले उद्योग र गोदाममा सिल गरिएको गिरिले बताए।
प्रहरीले ती दुवै उद्योगमा काम गर्ने तीन जना कर्मचारीलाई नियन्त्रणमा पनि लिएको छ। उद्योगमा काम गरिरहेका वीरगन्ज- १३ का मनिष चौधरी, वीरगन्ज-७ का आयुष अग्रवाल र वीरगन्ज-१४ का हरिनारायण प्रसाद कुर्मीलाई नियन्त्रणमा लिइएको गिरिले जानकारी दिए।
उद्योगका सञ्चालकहरू फरार भएकाले उनीहरूको खोजी भइरहेको उनले बताए। बरामद सामानहरूको विवरण संकलन गरी उद्योग र गोदामभित्रै राखेर सिल गरिएको भन्दै उनले उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको गिरीले जानकारी दिए।