बारामा लागुऔषधसहित तीनजना पक्राउ
वीरगन्ज: बाराबाट प्रहरीले लागुऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडदेवी गाँउपालिका २ का ३१ वर्षीय अर्जुन कुमार श्रेष्ठ ,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का १९ वर्षीय दिपेश कार्की र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय पुष्पबहादुर राई रहेका छन् ।
मंगलबार राति इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा १ स्थित सडकमा चेकजाँचको क्रममा मधेस प्रदेश ०३–००१ क.२२४३ नम्बरको लहरीको क्याविनमा सिटमुनी लुकाइछिपाई राखिएको अवस्थामा डाइजेपाम २८ पिस , फेनरागन २८ पिस र नर्फिन २८ पिस, नाइट्रोभेट ७५ पिस र नाइट्राजेपाम ८० पिससहित चालक श्रेष्ठ र कार्कीलाई पक्राउ गरेको हो ।
त्यहि स्थानमा चेकजाँचकै क्रममा प्रहरीले मधेस प्रदेश ०३–००१ क २२४२ नम्बरको लहरीको क्याविनमा सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा डाइजेपाम २६ पिस , फेनरागन २६ पिस र नर्फिन २६ पिस, नाइट्रोभेट १५० पिस र नाइट्राजेपाम ४० पिस सहित चालक राईलाइ पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखेर लागुऔषध सम्बन्धि कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको उनले बताए ।