अस्थिरताको बीउ

इजलास

अस्थिरताको बीउ
सुन्नुहोस्

त्यो बेला एमाले महासचिव मदन भण्डारी हुनुहुन्थ्यो। उहाँले मसँग विदेशी शक्तिले चलखेल गरिरहेको संकेत गर्नुभयो। तपाईंहरू पार्टीलाई जोगाउन लाग्नुहोस् भन्नुभयो। तर, हामीले जोगाउन सकेनौं। संसद् नै विघटन भयो। त्यसको साक्षी म पनि हुँ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको बहुमत हुँदाहुँदै २०५१ सालमा संसद् विघटन गर्नुभयो। देशलाई मध्यावधि निर्वाचनतिर धकेल्नु भयो। त्यो नै देशका लागि दुर्भाग्य बन्यो। त्यहींबाट अस्थिरताको सुरुवात भयो। लोकतान्त्रिक मूल्यमान्यता खस्किँदै गयो। राजनीतिमा स्खलन आयो। पार्टीभित्र घात–अन्तर्घातको शृंखला चल्न थाल्यो। अन्तरद्वन्द्व, विवाद, घात–अन्तर्घात मौलाउँदै गयो। आदर्श, सिद्धान्त हराउँदै गयो। नेताहरूमा महत्वाकांक्षा पलाउन थाल्यो। अनेक हतकण्डा हुन थाले। देश नै अन्तहीन हिंसाको चपेटामा पर्‍यो। देश र जनताभन्दा सत्ताका लागि जे पनि गर्ने परिपाटी बस्यो।

२०१७ सालमा खोसिएको प्रजातन्त्र ठूलो संघर्ष र बलिदानीबाट फर्किएको थियो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) नेतृत्वको सरकारले संविधान बनायो। २०४८ सालमा आमनिर्वाचन गरायो। कांग्रेसले बहुमत पायो। त्यस बेला म पनि सांसद थिएँ। पार्टीमा चरम द्वन्द्वको अवस्था आयो। किसुनजी समन्वयको कुरा गर्नुहुन्थ्यो। कुनै पनि हालतमा पार्टी फुट्न दिनुहुँदैन भन्नुहुन्थ्यो। गणेशमान सिंह भने गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)लाई कारबाही गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। जलपाइगुडी महाधिवेशनदेखि नै उहाँहरूबीच द्वन्द्व थियो। किसुनजीले थामथुम पार्दै आउनुभएको थियो। उहाँ पार्टीभित्र दरार आउँछ। फुट हुन्छ भन्नुहुन्थ्यो। 

अन्तर्राष्ट्रिय शक्ति र दरबारको चलखेलले पार्टीको विवाद बढ्योे। गिरिजाबाबुलाई उक्साइदिने दरबार कांग्रेसलाई कमजोर बनाउन सक्रिय थियो। पार्टीमा अन्तरद्वन्द्वले बहत्तरे र छत्तीसे भनेर दुई समूह बनेको थियो। समन्वयको प्रयास भइरहेको थियो। करिब–करिब कुरा मिलिसकेको थियो। किसुनजी नरम स्वभावको मान्छे। उहाँ पाँच वर्ष नै सरकार चलाउनुपर्छ भन्नुहुन्थ्यो। गिरिजाबाबु खरो स्वभावको हुनुहुन्थ्यो। उहाँलाई कसले उचालिदियो ? संसद् विघटन गरिदिनुभयो। 

त्यो बेला एमाले महासचिव मदन भण्डारी हुनुहुन्थ्यो। उक्त पार्टीले कर्मचारी आन्दोलनका नाम संसद् बैठकमा अवरोध गरिरहेको थियो। उहाँले मसँग विदेशी शक्तिले चलखेल गरिरहेको संकेत गर्नुभयो। तपाईंहरू पार्टीलाई जोगाउन लाग्नुहोस् भन्नुभयो। तर, हामीले जोगाउन सकेनौं। संसद् नै विघटन भयो। त्यो बेला देश नै दुर्घटनामा पुग्यो। त्यसको साक्षी म पनि हुँ। बल्ल पुनःस्थापना भएको प्रजातन्त्र  डिरेल हुन थाल्यो।

२०५२ मा त्रिकुश संसद् थियो। त्यहाँ जसोतसो व्यवस्थापन गर्दागर्दै दुई जना कांग्रेस सांसद अनुपस्थित भए। विपक्षलाई मनाइएको थियो। संसदीय लोकतन्त्र भनेको नम्बर खेल हो। बहुमत चाहिन्थ्यो। अरू पार्टी विदेश पठाउने, सुविधा दिने के–के गरेर मिलाइएको थियो। तर, आफ्नै दुई सांसद अनुपस्थित गराइए। त्यस बेला पार्टीको आन्तरिक कारण त्यो बेला कांग्रेस नेतृत्वको सरकार ढल्यो।

२०५६ सालमा त किसुनजीलाई भावी प्रधानमन्त्री भनेर बहुमत आयो। उहाँलाई अपमानपूर्वक निकालियो। अनैतिकताको पराकाष्ठा भयो। बहुमतलाई खण्डित गरियो। किसुनजी अझै केही दिन सरकारमा रहनुभयो भने देश माओवादीले खाने भन्ने भ्रम फैलाइयो। उहाँकै पालामा संविधान बनेको थियो। निर्वाचन भएको थियो। उहाँ राष्ट्रवादी, प्रजातन्त्रवादी हुनुहुन्थ्यो। त्यो कुरा अरू शक्तिलाई सह्य भएन। उहाँविरुद्ध अविश्वासको प्रस्ताव आयो। मर्मस्पर्शी वक्तव्य दिई विवश भएर उहाँले राजीनामा दिनुभयो।

त्यसो त गिरिजाबाबुकै आँटले माओवादी शान्ति प्रक्रियामा आयो। १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य भयो। उहाँले साहस साथ अन्तहीन हिंसाको चपेटाबाट मुलुकलाई पार लगाउनुभयो। हारे गिरिजा हार्छ जिते पार्टी जित्छ भनेर लाग्नुभयो। पार्टीमा बहुमतको असहमति हुँदाहँुदै पनि शान्ति स्थापना गराउनुभयो। त्यो प्रशंसनीय छ।  

तर, शासन व्यवस्था फेरिए पनि सर्वसाधारण जनताको अवस्था फेरिएको छैन। युवाहरू १२ कक्षा पूरा गर्दा नगर्दै विदेश ताकिरहेका छन्। परनिर्भरताले हामीलाई कहाँ पुर्‍याउँदैछ ? हामी पनि जिम्मेवार छौं। द्वन्द्वको चपेटामा पर्ने अवस्था आयो। जनतामा वितृष्णा र असन्तुष्टि फैलाउने काम भइरहेको छ। वैदिक सनातन धर्म लोप गर्ने काम भइरहेको छ। जसका लागि देशी विदेशी शक्ति लागिरहेका छन्। 
(कांग्रेस नेता उपाध्याय पूर्वमन्त्री हुन्) 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.