कोर्स बाहिरका किताब पनि पढाऔं

कोर्स बाहिरका किताब पनि पढाऔं

अर्नेस्ट हेमिङ्वेले भनेका रहेछन्– ‘दुनियाँमा पुस्तक जति बफादार र भरपर्दो साथी अरू केही छैन।’ अहिले यसो भन्यो भने एकथरी मानिसलाई चित्त नबुझ्न सक्छ। तर, दुनियाँ बदलिइसक्यो। अब त मानिसको मोबाइल जति भरपर्दो साथी अरू केही हुन सक्दैन होला। के मोबाइल साँच्चै भरपर्दो मात्र छ ? यसले साराका साराको समय खोसेको छ। भोक, निद्रा र सिर्जनशीलता खोसेको छ। बालबालिकाको बालापन खोसेको छ। युवायुवतीको मौलिक बैंस खोसेको छ अनि बूढाबूढीको चैन खोसेको छ। अचेल डोरीबिना झुन्डिन मिल्ने वस्तु छ भने त्यो मोबाइल नै भएको छ। अचेल हामी जोसुकै जहाँसुकै होस् मोबाइलमै झुन्डिएका हुन्छौं।

एउटा तथ्यांकले भन्छ, एक दिनमा एउटा मानिसले २६ सय पटक मोबाइल छुन्छ रे। यो वाक्य सुन्दा अलि हजम नहुन सक्छ। त्यत्रो पटक त कसले छुन्छ होला जस्तो लाग्छ। यसमा गोजीबाट निकाल्ने, समय हेर्ने, फोन गर्ने, रिसिभ गर्ने, सन्देश लेख्ने, सुम्सुम्याउने, बटन थिच्ने, स्क्रोल गर्ने, पेज खोल्ने, लाइक गर्ने, कमेन्ट गर्ने सबै प्रक्रिया पर्दा रहेछन्। यसको मर्म बूढीऔंलालाई जति अरूलाई कसरी थाहा होला ? खासमा मोबाइल शरीरको अंग जत्तिकै अभिन्न बन्न पुगेको छ। एकछिन मोबाइल भएन भने हातखुट्टा बाँधिदिए जस्तो, मुख थुनिदिए जस्तो, सारा स्वतन्त्रताको हरण गरिदिए जस्तो कस्तोकस्तो उकुसमुकुस हुने गर्छ। सुत्नेबेलामा पनि हातले भेट्ने ठाउँनजिक यसको बास हुन्छ।

अचेल आमाबुवाले सानो बच्चा रुँदा फुलाउन मोबाइल दिने गर्छन्। आमाहरूलाई को खाई को खाई गरेर खाना खुवाउने फुर्सद छैन। खाना खुवाउने बेलामा मोबाइलमा गीत वा कार्टुन लगाएर अगाडि राखिदिने गर्छन्। सुत्ने बेलामा हजुरआमाको कथा र लोरी सुन्ने जमाना पनि सकिएको छ। बच्चा रुँदा पहिलापहिला बाघ आयो, भूत आयो, गुजी (बुजी) आयो, पुलिस आयो भनेर मिथ्याचार गर्नुपथ्र्यो। अहिले त बस मोबाइल दिएपछि बच्चा खुस, आमाबुबा पनि खुस। मोबाइलको कुलत यसरी लागेको छ कि अब यो सञ्चारको आधुनिक साधनमा मात्र सीमित रहेन। विद्यार्थीको गृहकार्य गर्ने साथी पनि यही भएको छ। तपाईं जुनसुकै गृहकार्य दिनुस् गुगल गुरुले सजिलै बताई दिनुहुन्छ। विद्यार्थी यसैबाट कपी पेस्ट गरेर अर्का गुरुलाई बुझाउँछन्। अचेलका विद्यार्थी मोबाइलमार्फत फेसबुक, ट्विटर र इन्स्ट्रामा नयाँनयाँ फोटा टाँस्छन्। साथै सिनेमा हेर्छन्, गीत सुन्छन्, टिकटक हेर्छन्-बनाउँछन्। गेम खेल्छन्, दोस्तीगिरी गर्छन्। अब तिनीहरूको रुचि कार्टुन हेर्नुमा मात्र सीमित रहेन। बरु तिनीहरूले मौका हेरी बाबुआमा र शिक्षकलाई नै कार्टुन बनाउँछन्।

आधुनिक जमानामा मोबाइलबिना मानिसको जीवन चल्दैन। यो अत्यावश्यक सामग्री पनि हो। आवश्यकताका साथै कतिपय अवस्थामा यो काउसाको मालाजस्तो पनि बन्न पुगेको छ। विद्यार्थीलाई त मोबाइल पाएपछि बाबुआमा, समाज, इष्टमित्र, संस्कार, कामकाज, घरधन्दा, जिम्मेवारी र बाहिरी संसार केही नचाहिने भएको छ। अधिकांश अभिभावको गुनासो के हुने गर्छ भने– ‘लौन बच्चा चौबिसै घण्टा मोबाइलमा झुन्डियो।’ यसमा बच्चाको केही दोष छैन। दोषी त विद्यालय र अभिभावक दुवै छन्। यो समस्याको एउटा मात्रै समाधान किताब हो। मोबाइल खेलाउने हातमा किताब थमाउन अब ढिला भइसकेको छ। स्टेफिन हार्गेभर्स भन्छन्– ‘मस्तिष्क, हृदय र आत्माको उदात्तीकरणका लागि पुस्तक जति महŒवपूर्ण कुरा अरु केही छैन।’ हाम्रा लागि भने किताबको महŒव अहिले पनि जिरामरिच पोको पार्ने कागजबाट माथि उठ्न सकेको छैन। यहाँ भुल्नै नहुने कुरा के हो भने हामीले बच्चालाई किताबको लती बनाउन नसकेकै कारण उनीहरू मोबाइलका कुलती भएका हुन्। 

बच्चा विद्यालयमा जानुभन्दा अगाडिदेखि नै उसका हातमा विभिन्न खाले किताब पर्नुपर्ने हो। सचित्र लेखिएका कथा, कविता, गीत र अन्य सामग्रीले बालबालिकाका मस्तिष्कमा सकारात्मक प्रभाव पार्छन्। उनीहरू कल्पनाशील र सिर्जनशील बन्छन्। यहाँ त बच्चालाई विद्यालय हालेको दिनदेखि पाठ्यपुस्तकको घोकन्ते संस्कृति सुरु गराइन्छ। निश्चित कुरा घोकेर ग्याम्म नम्बर 

ल्याएपछि बच्चाले तगडा विद्यार्थीको पगरी पाइहाल्छ। हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठुलो दुश्मन के हो भने यो नर्सरीदेखि नै निश्चित पाठ घोकेर सुरु भई मास्टर डिग्रीमा नोटकपी र फोटोकपीले प्रदान गरेको ज्ञानमा पुगेर टुंगिन्छ। हेरिल्याउँदा खेरी सीमित पाठ्यपुस्तक पढाउने पद्धति नै सिकाइको सबैभन्दा ठूलो बाधक भएको भेटिन्छ। पाठ्यपुस्तकले हदसम्म गर्ने भनेको परीक्षामा सफल गराउने हो। जीवनमा सफल बनाउने हो भने पाठ्यपुस्तक बाहिरका किताब पढाउनुको विकल्प छैन। अब परीक्षामा मात्रै सफल बनाउने कि जीवनमै सफल बनाउने हो, छान्ने जिम्मा अभिभावक र विद्यालयको। 

मैले कतिपय विद्यालयका शिक्षक, प्रिन्सिपल र व्यवस्थापकदेखि अभिभावकसम्मलाई एउटै रोगले गाँजेको देखेको छु। त्यो के हो भने कोर्स बाहिरका किताब पढ्यो भने विद्यार्थी बिग्रिन्छ रे। तिनले कोर्सबाहिरका किताब पढ्न खोज्ने विद्यार्थीलाई गाली गरेर हतोत्साहित गरेको मेरै आँखाले कयौंपटक देखेको छु। अबको विद्यार्थीलाई पाठ्यपुस्तकको सीमित ज्ञानमा मात्र अल्झाएर राख्नु हुदैन । तसर्थ विद्यालयहरूले बढीभन्दा बढी पुस्तक भएको भव्य पुस्तकालयको अवधारणा ल्याउनु जरुरी छ। अलिकति ढंग पु¥याउने हो भने कक्षाकोठा नै पनि मिनी लाइब्रेरी बन्न सक्छ। विद्यार्थीलाई उसको तहअनुसार कम्तीमा महिनाको दुईओटा पुस्तक अध्ययन गर्ने वातावरणको सिर्जना गर्नु अत्यावश्यक भइसकेको छ। 

कतिपय विद्यालय सञ्चालक र प्रिन्सिपलसम्मलाई के लाग्छ भने कोर्सबाहिरका किताब पढाउँदा नेपाली—अंग्रेजीलगायतका भाषा विषयलाई मात्रै सहयोग हुन्छ। किताब पढ्ने र पढाउने काम साहित्यको मामला हो। विज्ञान गणितजस्ता विषयसित यसको गोरु बेचेको साइनो पनि छैन। यो सोचाइ एकदमै गलत छ। बाहिरी किताब पढी विद्यार्थी सिर्जनशील, तार्किक र कल्पनाशील हुँदा यसले विज्ञान र गणितजस्ता विषयलाई पनि धेरै फाइदा गर्छ। 

कुनैकुनै विद्यालय र अभिभावकले एसईई र १२ कक्षाको जाँच दिने विद्यार्थीलाई झन् कडा नियम बनाएर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कोर्सका विषय मात्र रट्न लगाउँछन्। कुनै पनि बोर्ड परीक्षा अरूभन्दा फरक होइन। बरु उनीहरूलाई नयाँनयाँ किताब पढाउने, सिनेमा देखाउने अनि गीत सुनाउने चाँजो मिलाएर कोर्सको पढाइलाई सँगसँगै लैजान सकिन्छ। एसईई परीक्षाको प्रश्नपत्र र कक्षा ९ को प्रश्नपत्रमा के फरक छ ? कक्षा ११ र १२ को प्रश्नपत्रमा के फरक छ ? यसरी बोर्ड परीक्षाहरूलाई चाहिनेभन्दा बढी महŒव दिँदा तल्लो कक्षामा पढ्ने विद्यार्थीमा पनि पढ्ने भनेको बोर्ड परीक्षा आएपछि मात्रै हो भन्ने भावनाको विकास भएको पाइन्छ। परीक्षाको रुटिन निस्केपछि मात्रै पढ्न सुरु गर्ने बानी लाग्न यस्तै व्यवहार जिम्मेवार हुन्छन्।

हामीले सन्ततिलाई न्यानो राख्न अनेक खाले ज्याकेट, स्विटर, मोजा, पञ्जा, जुत्ता आदि किनिदियौं होला। शरीरको खुराकको हामी धेरै चिन्ता गर्छौं। दिमागको खुराक किताबहरू चाहिँ किनिदिनु पर्छ कि पर्दैन ? अब नयाँ शैक्षिक सत्र सुरु हुँदै छ। केही दिन विद्यार्थीहरू अलि फुर्सदमा हुनेछन्। विद्यालयले तोकिदिएका पाठ्यपुस्तक त हामी खुरुखुरु किनिदिई हाल्छौं। कोर्स बाहिरका किताब किनिदिने हाम्रो योजना छ कि छैन ? कसैलाई नयाँ वर्ष वा जन्मदिनको उपहार दिनु छ भने राम्रो किताब किनेर किन नदिने ? जतिखेर पनि मोबाइल खेलाउने हातले किताब समाएको कल्पना गरौं त ! हेर्दा यो कुरा सामान्य लाग्न सक्छ तर राष्ट्रोत्थानको जग यहीँबाट सुरु हुन्छ।
 

( तिमिल्सिना, पढाउनेले पढौं अभियानका अभियन्ता हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.