'कोशी' नाम खारेजीको माग गर्दै प्रदर्शन : आन्दोलनकारीले धरानका दुई वडा कार्यालयमा लगाए ताला
धरान : कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर आन्दोलनकारीहरू बिहीबार धरान उपमहानगरपालिकाका दुईवडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीहरूले धरान उपमहानगरपालिकाको ५ र १५ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कोशी प्रदेश खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बूवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि पहिचान पक्षधरहरूले आन्दोलनलाई सशक्त पारेका छन् ।
बन्द,हड्ताल,कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरुले प्रदेश भरी सरकारी कार्यालय संचालन गर्न नदिने चेतावनी दिएका छन् । जनता समाजवादीका नेता सागर चेम्जोङले कोसी प्रदेश खारेजी,लाजेहाङलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरुन्जेलसम्म आन्दोलन नरोकिने बताएका छन् । उनले प्रदेशभरीका सबै कार्यालय बन्द गराउन कार्यकर्ताहरू परिचालन गरेको बताए ।
संघीय लिम्बूवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले स्थानीय तहहरूमा कोसी प्रदेशको बोर्ड राखिएका कारण धरानमा दुईवटा वडा कार्यालय बन्द गरिएको बताए । धरान १५ का वडा अध्यक्ष नरेश इवारमले पहिचान पक्षधरका आन्दोलनकारीले वडा कार्यालयमा तालाबन्दी गरेका कारण कार्यालयको काम प्रभावित बनेको बताएका छन् । पहिचान पक्षधरका आन्दोलनकारी नाराजुलुस लगाउँदै वडा कार्यालय बन्द गराउँदै हिँडेका छन् ।
सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीले आन्दोलनलाई सशक्त बनाउँदै गएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे वडा कार्यालयमा लगाएको ताला खोल्न र शान्ति सुरक्षा मजबुत बनाउन धरान प्रहरीलाई निर्देशन दिएको बताए ।