सर्लाहीबाट करिब ११ हजार विद्यार्थी एसईईमा सहभागी हुने
मलंगवा : सर्लाहीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएको छ।
शुक्रबारबाट सञ्चालन हुने परीक्षामा यस जिल्लाबाट १० हजार ९ सय १६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलंगवा सर्लाहीले जनाएको छ।
१ सय ४६ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक सुनिल कुमार कुशवाहाले जानकारी दिएका छन्।
कुशवाहाका अनुसार सामुदायिक विद्यालय ९७, संस्थागत विद्यालय ४५, खुला विद्यालय २ र गृहणी विद्यालय एक गरी जम्मा १ सय ४६ विद्यालयको विद्यार्थी परीक्षामा सहभागी हुनेछ।
सामुदायिक विद्यालयबाट ९ हजार ७९, संस्थागत विद्यालयका १ हजार ३ सय ४२ र प्राविधिकतर्फका २ सय ९२ विद्यार्थी परीक्षा दिने कुशवाहाले बताए।
परीक्षा सञ्चालनका लागि ३७ वटा केन्द्र तोकिएको छ। ३७ जना केन्द्राध्यक्ष, ७४ जना सहायक केन्द्राध्यक्ष, ५ सय ३५ जना निरीक्षक, १ सय ७ जना परीक्षा सहायक र विद्यालय सहयोगी/कार्यालय सहयोगी २ सय १४ जनालाई परिचालन गरिएको प्राविधिक सहायक कुशवाहाले बताए।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ सञ्चालन तथा व्यवस्था सम्बन्धी केन्द्राध्यक्षहरूको १ दिने अन्तर्क्रिया कार्यक्रम पनि गरिएको छ।
परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय र भयरहित वतावरणमा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि समन्वय इकाईले ४६ बुँदे आचारसंहिता पनि जारी गरी लागू गरेको कुशवाहाले बताएका छन्।