राम नवमीमा बर्दियामा शोभायात्रा
गुलरिया : चैत्रशुक्ल नवमी अर्थात रामनवमीका अवसरमा बर्दियाको गुलरियामा शोभायात्रा निकालिएको छ।
विश्व हिन्दू परिषद् नेपाल, बजरंग दल लगायत विभिन्न मठहरूको आयोजनामा भगवान श्रीरामको यात्रा निकालिएको हो।
गुलरिया बसपार्क स्थित आँप बगियाबाट निस्किएको यात्रा हटिया बजार, गुलरिया गाउँ, तुलापुर, राधाकृष्ण, गणेशमान चोक हुँदै गौरीशंकर, बगलामुखी मन्दिर हुँदै खैरापुर पुगेर टुगिंएको कार्यक्रम संयोजक शुभम आचार्यले जानकारी दिए।
भगवान श्रीराम नवमी पर्वको अवसर पारेर जय जयकार गर्दै गुलरिया नगरपालिकाका प्रमुख बजारहरूमा रंगोली सहितको शोभायात्रा गरिएको उनको भनाइ छ।
यात्रामा महिला, पुरुष हिन्दू भक्तजनहरूको यथेष्ट सहभागिता रहेको थियो। यात्रामा सहभागी भक्तजनहरूलाई गौरीशंकर मन्दिरमा प्रसाद वितरण गरिएको हो।