जहाँ भेटियो पुरातात्विक वस्तु
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडास्थित त्रियुगा जनता बहुमुखि क्याम्पस परिसरमा एक महिनाअघि पुरातात्विक महत्व बोकेका केही इटा देखिए। जंगलभित्र रहेको क्याम्पस परिसरको सरस्वती मन्दिर र थारु समुदायको मुडकडा मन्दिर (थारु भाषामा मुड भनेको टाउको, गडा भनेको गाडने)सँग जोडिएको ठाउँमा इटा भेटिएपछि उक्त स्थान सबैको कौतुहलको विषय बन्यो।
लगत्तै पुरातात्विक विभागलाई मेयर बसन्तकुमार बस्नेतले जानकारी गराए र त्यहाँबाट नगरपालिकाले नै खर्च व्यहोर्ने गरी विशेषज्ञसहितको पाँचजनाको टोली झिकाए। टोलीले सामान्य उत्खननकै क्रममा पुराना ऐतिहासिक अवशेषहरू फेला पार्यो।
विशेषज्ञ देवेन्द्रनाथ तिवारीको टोलीले उत्खनन्का क्रममा भेटिएका संरचना र अवशेषहरू हेर्दा पुरानो दरबार वा विशिष्ट व्यक्तिको घर हुन सक्ने अनुमान गरेको छ। ‘यद्यपि यो अनुसन्धानको विषय हो, हामी यसका पुष्ट्याइका आधारहरू खोजिरहेका छौं’, तिवारीले भने, ‘अहिले केहि भन्ने अवस्था छैन सामान्य प्रकृति हेर्दा सयौं वर्ष पहिलाको संरचना हुन सक्छ ।
जमिनमुनि भेटिएका संरचना र तथ्यलाई खोतल्दै जाने र इतिहास केलाउने हो भने केही कुरा पत्ता लगाउन सकिने मेयर बस्नेतले बताए । उनले भने, ‘जमिनमुनि २७ छल (चाङ)सम्म इटा फेला पर्नु केही रहस्य हुन सक्छ।’ उनले थपे, ‘अब इतिहासकारका लागि यो अध्ययनको विषय हो।’ फेला परेको पुरातात्विक संरचना नगरको सम्पत्ति भएकाले यसको संरक्षण नगरले नै गर्ने उनको भनाइ छ। विशेषज्ञसहितको टोलीले उत्खनन् गरी अनुसन्धान पश्चात निकालेको तथ्यलाई आधार मानी यसको संरक्षण गर्ने मेयर बस्नेतले बताए। ‘तत्काल उत्खनन् गरेको ठाउँलाई घेरा हालेर सुरक्षित गर्छौं’, उनले भने, ‘यसको तथ्य पुष्टि भएलगत्तै इतिहास नमेटिने गरी भौगोलिक अवश्थालाई हेरी संरचना निर्माण गर्छौं।’
झट्ट हेर्दा धेरै वर्षअघि कसैले इटाको घर बनाएर बसेको देखिन्छ। चारैतिर पुराना इटाले घर बनाएर बसेको हुनु पर्ने सहजै अनुमान गर्न सकिन्छ। तर त्यसको गहिराइमा पुगेर अनुसन्धान गर्ने हो भने नतिजामा केही फेरबदल आउन सक्छ।
संरचना नजिक मुडगडा मन्दिर केही वर्षअघि मात्र स्थापना गरिएको छ। मन्दिरभन्दा बाहिर जमिनमुनि ईटाको संरचना भेटिएकाले मन्दिर निर्माणमा केही फेला नपरेको स्थानीय बताउँछन्। मुडगडा मन्दिरका विषयमा थारु समुदायको कथन अनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानीवीच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेर जमिनमुनि गाडिएको थियो। यसैलाई आधार मानेर उक्त ठाउँलाई मुढगडा नामाकरण गरिएको बुढापाका बताउँछन्। अहिले यस ठाउँलाई मोतिगडा भनिन्छ।
स्थानीय तथा वडा नं ३ का वडासदस्य कानन चौधरी भन्छन्, ‘वैशाख १ गते सधंैभरी यहीँ मन्दिरमा आएर थारु समुदायले पुजा आराधना गर्छौ, तर फेला परेको इटातर्फ हाम्रो ध्यान गएन।’ उत्खनन्मा फेला परेका अवशेष हेर्दा लिच्छवि वा गुप्तकालीन कलाशैलीका मूर्तिहरू हुन सक्ने इतिहासकार लेखक तथा पत्रकार कौशल चेम्जोङको अनुमान छ। उनले इशापूर्व पहिलो वा दोस्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हुन सक्ने बताए।
‘बीचभागमा इटाको पर्खाल लगाएर दरबार बनाइएको र चारवटै कुनामा सुरक्षाकर्मी बस्ने गरी ईटाकै सुरक्षा पोस्ट निर्माण गरिएको देखिन्छ’, प्राविधिक सहायक विराट थापाले भने, ‘अहिले यसै हो भन्न नसकेपनि यसको तथ्य पत्ता लाग्छ, संरचना हेर्दा सुरक्षाकर्मीले घर घेरिएको देखिन्छ।’
मोतिगडामा टोलीले विभिन्न संरचनाहरूसँगै पुरानो इटाको गाह्रो, पुरानो मुर्तिका टुक्राहरू, पोट्रीको टुक्राहरू फेला पारेको छ। विशेषज्ञ तिवारीले उक्त संचरना र सामाग्रीहरू कुन समयको भन्न सकिने अवस्था नरहेको बताए। फेला परेका केही अवशेषका टुक्राहरूबाट समय कालखण्ड पत्ता नलाग्ने र कसको संरचना कसले प्रयोग गरेको भन्ने बारे अहिले नै एकिन नहुने उनको भनाइ छ। उनले यसलाई पूर्णरुपमा विभागमा लगेर अनुसन्धान गरेपश्चात मात्र यसको समय कालखण्ड भन्न सकिने बताए।