एसईई परीक्षामा सिन्धुलीबाट पाँच हजारबढी विद्यार्थी सहभागी
सिन्धुली : आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुलीबाट ५ हजार २ सय ४८ जना विद्यार्थी सहभागी भएका छन् । नियमिततर्फ १ सय ७८ जना प्राविधिक तर्फका समेत गरी ५ हजार २ सय ९ जना, र ग्रेडवृद्धितर्फ ३९ जना गरी ५ हजार २ सय ४८ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएका हुन् ।
जिल्लाका २६ वटा परीक्षा केन्द्रमा शुक्रबारबाट शान्तिपूर्णरुपमा परीक्षा सुरुभएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए । परिक्षामा १ सय २६ वटा सामुदायिक विद्यालय र २३ वटा संस्थागत विद्यालय गरि १ सय ४९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।
परीक्षामा कमलामाई नगरपालिकाबाट सबैभन्दा बढी विद्यार्थी सहभागी छन् । घिमिरेका अनुसार कमलामाई नगरपालिकाबाट ९ सय ४५ जना सामुदायिक विद्यालय र ३ सय ८० जना संस्थागत विद्यालयकागरी कुल १ हजार ३ सय २५ जना विद्यार्थी परीक्षामा सामेल भएका छन्।
परीक्षाका लागि २६ जना केन्द्राध्यक्ष,३५ जना सहायक केन्द्राध्यक्ष,२ सय ६२ जना निरीक्षक, ५२ जना परीक्षा सहायक, १ सय ५ जना कार्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी सहित ८ सय ७० जना कर्मचारी खटाइएको छ ।
जिल्लामा यो वर्ष अघिल्लो वर्षको तुलनामा एसईई परीक्षा दिनेको संख्यामा केही कमी आएको छ । अघिल्लो वर्षको एसईईमा जिल्लाबाट ५ हजार ७ सय ८७ जना विद्यार्थी सहभागी भएका थिए ।