बैतडीमा बुडाल मृत्यु प्रकरण : चारजना कारागार चलान, पाँच धरौटीमा छुटे
बैतडी : फागुन १३ गते चौलानी नदीमा मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका १० का २५ वर्षीय जीवन बुडाल मृत्यु प्रकरणमा मुछिएका चारजनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । तीन जनालाई जनही १ लाख ५० हजार र दुई जनालाई ५० हजार धरौटीमा रिहा गरिएको छ ।
त्यसैगरी तीनजनालाई सामान्य तारिखमा छोडिएको छ । बिहीबार जिल्ला अदालत बैतडीले यस्तो आदेश दिएको छ । दशरथचन्द नगरपालिका १० कै गजेन्द्र सिंह रावल,अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र नारायण सिंह ऐरीलाई पूर्वक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
केशव सिंह रावल, मोहन सिंह ठगुन्ना र भुवन राम लुहारलाई सामान्य तारेखमा रिहा गरिएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिए ।
शरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल फागुन १३ गते मृत फेला परेका थिए । साथीहरुसँगै वनभोज मनाउन गएका बुडाल मृत फेला परेपछि आफन्तले घटनाको यथाशीघ्र छानबिन हुनुपर्ने माग राख्दै संघर्ष समेत गरेका थिए ।
त्यसपछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।