एसईई परीक्षा : प्रश्नपत्र बाहिरिएपछि बारामा केन्द्राध्यक्षसहित पाँचजना निलम्बित
सिमरा : बारामा एसईई परीक्षा सुरु भएको पहिलो दिन नै प्रश्नपत्र बाहिरिएको छ । आदर्शकोतवाल गाउँपालिका १ च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालय जयनगर परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो ।
परीक्षा सुरू भएको १५ मिनेटमै परीक्षार्थी पवन साहले मोबाइलबाट फोटो खिचेर ह्वाटस्अप ग्रुपमा प्रश्नपत्रको फोटो पठाएका थिए । परीक्षा केन्द्र बाहिर रहेका व्यक्तिलाई प्रश्नपत्र पठाएको करिब ३० मिनेटपछि प्रहरीले जानकारी पाएको थियो ।
जनता माध्यमिक विद्यालय कचोर्वाका परीक्षार्थी साहले प्रश्नपत्रको फोटो बाहिर रहेका दीपक साहलाई पठाएका थिए । ह्वाट्सअप ग्रुपमार्फत् फोटो बाहिरएपछि परीक्षा केन्द्रमा प्रश्नपत्र हेर्न भीड् समेत लागेको थियो । मोबाइलमा प्रश्नपत्र हेर्न जम्मा भएपछि प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
‘परीक्षा केन्द्र बाहिर मोबाइल हेर्न सबै झुम्मिएपछि शंका लागेर प्रहरीले बुझ्ने क्रममा प्रश्नपत्र बाहिरिएको जानकारी पायौं, प्रहरी उपरीक्षक बोगटीले भने, ‘तत्कालै परीक्षार्थी र दीपकलाई मोबाइलसहित नियन्त्रणमा लियौं।'
प्रहरीले दीपकलाई अझै नियन्त्रणमा राखेको छ भने परीक्षार्थी साहलाई रिहा गरेको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार परीक्षार्थी साहको पहिलो दिनको परीक्षा रद्ध गर्ने निर्णय गर्दै उनलाई छाडिएको र दीपकलाई कारबाहीका लागि मुद्धा प्रक्रिया अघि बढाउन लागिएको बताए ।
प्रहरी उपरीक्षक बोगटीले परीक्षा रद्ध गर्नुपर्ने स्थिति नरहेको उनले बताए । उनका अनुसार प्रश्नपत्र बाहिरिए पनि उक्त ग्रुपमार्फत् उत्तरभित्र गएको देखिदैन । परीक्षार्थीको मोबाइल र सामाजिक संजालको ग्रुपमा उत्तर गएको नदेखेपछि परीक्षा रद्ध गर्नुपर्ने अवस्थामा नरहेको बोगटीको भनाइ छ ।
प्रहरीले परीक्षार्थी पवन र दीपकसँग मोबाइल नियन्त्रणमा लिएर ग्रुपमा रहेका सबैको विषयमा जानकारी समेत लिएको थियो । १० जनाको ग्रुपमा तीनजना परीक्षार्थी र सातजना बाहिरका व्यक्ति थिए । तीनजना परीक्षार्थीमध्ये एकजना पवन रहेका छन् भने अन्य दुई अन्य परीक्षा केन्द्रका विद्यार्थी हुन् ।
प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित सुरक्षा निकाय, शिक्षा समन्वय इकाइ कार्यालयको टोली परीक्षा केन्द्र पुगेका थिए । प्रजिअ सापकोटाको नेतृत्वमा पुगेको टोलीले घटनाको विषयमा जानकारी लिँदै उक्त परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षसहित पाँचजनालाई निलम्बन गर्ने निर्णय गरेको छ ।
परीक्षा केन्द्रबाट निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, बिजयप्रसाद चौधरी, निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्ता रहेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा केन्द्रमै बसेको बैठकले उनीहरूलाई एसईई परीक्षा अवधिभरीका लागि निलम्बन गरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त परीक्षा केन्द्रमा अन्य केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष र निरीक्षक पठाइने बताए । परीक्षालाई मर्यादित बनाउन जिम्मेवारी दिइएका व्यक्तिको लापरवाही देखिएपछि उनीहररूलाई तत्काल निलम्बन गरिएको प्रजिअ सापकोटाको भनाइ छ ।
प्रजिअ सापकोटाले आगामी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि निर्देशन दिइएको र त्यसैअनुसार आवश्यकता परेका स्थानमा सुरक्षा संयन्त्र थप गर्ने नगरी छलफल भइरहेको बताए । एसईई परीक्षा मर्यादित बनाउन प्रजिअ सापकोटाले यसपटक परीक्षा केन्द्र परेको विद्यालयमा प्राथमिक तहका शिक्षकलाई गार्ड राख्न सुरुवात गरेका थिए ।
अघिल्ला वर्षमा परीक्षार्थी अध्ययरत विद्यालयका शिक्षक नै पुगेर गार्ड बस्ने गरेका थिए । यससँगै प्रजिअ सापकोटाले जिल्लको ३२ वटा परीक्षा केन्द्र अनुगमन गर्न १६ वटा अनुगमन समिति बनाए ।
आफ्नो नेतृत्वमा चार सदस्यीय र सरकारी कार्यालयका प्रमुख कर्मचारीको नेतृत्वमा तीन सदस्यीय अनुगमन समिति बनाएर परीक्षालाई मर्यादित बनाउन प्रयास गरेका छन् ।
परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष,सह केन्द्राध्यक्षलाई भेला गरेर परीक्षा मर्यादित बनाउन जोड दिँदै आएका प्रजिअ सापकोटा प्रश्नपत्र बाहिरएको घटनाले आफूहरूलाई सचेत समेत गराएको बताए ।
शिक्षा समन्वय इकाइ बाराका प्रमुख श्यामकिशोर प्रसाद उक्त घटनाबाहेक जिल्लाका अन्य स्थानमा मर्यादित ढंगले परिक्षा सम्पन्न भएको बताए । उनले यस्तो घटना दोहोरिन नदिन र परीक्षालाई मर्यादित वातावरण सम्पन्न गर्न तत्कालै बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।
एसईई परीक्षाका लागि बारामा ३२ वटा परीक्षा केन्द्र तोकिएका छन् । जसमा ९ हजार ६ सय ७९ परीक्षार्थी सहभागी छन् ।