बैंकको ताकेताले व्यवसायीमा आतंक सिर्जना भयो : पर्यटन व्यवसायी

बैंकको ताकेताले व्यवसायीमा आतंक सिर्जना भयो : पर्यटन व्यवसायी
सुन्नुहोस्

पोखरा : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गरेर २० लाख पर्यटक भित्र्याउने योजना बनाएर व्यवसायीलाई पर्यटन पूर्वाधारमा लगानी थप्न प्रेरित गर्‍यो। 

पर्यटक बढ्ने विश्वासमा व्यवसायी उत्साहित भए। बैंकले पनि होटल, रेष्टुरेन्ट लगायत पर्यटकीय पूर्वाधारमा लगानी गर्न ऋर्ण सहज रूपमा दियो। 

पर्यटकीय पूर्वाधारमा व्यवसायीले लगानी गरे। तर सन् २०२० को मुखैमा सन् २०१९ को डिसेम्बर महिनामा चीनमा पहिलो पटक देखापरेको कोभिड–१९ विश्वभर फैलिएर विश्व पर्यटन बजार मात्र होइन सबै क्षेत्र प्रभावित भयो। 

यसको प्रत्यक्ष असर नेपालमा ठूलो ऋण लिएर पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीलाई परेको पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखरेली पर्यटन व्यवसायीले बताएका छन्। 

अरू व्यवसायभन्दा पर्यटन क्षेत्र बढी सम्वेदनशील व्यवसाय हो। पैसा खर्च गरेर रमाउन आउने पर्यटक ज्यान जोखिममा राखेर घुम्न आउने कुरा भएन। अहिले विश्वमै आर्थिक मन्दी भएकाले पनि पर्यटन व्यवसाय कोभिड अघिको अवस्थामा फर्कन नसकेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। 

होटल, रेष्टुरेन्ट, पर्यटक लक्षित सवारी साधन, साहासिक खेलका गतिविधि लगायतमा लगानी बढ्यो तर पर्यटकको आगमन बढेन्। पर्यटक नै नआएपछि व्यापार भएन र पर्यटन व्यवसायीले लिएको ऋणको ब्याज तिर्न मात्र होइन बिजुली, पानीको बिल तिर्न पनि समस्या भएको परिषदका अध्यक्ष श्रेष्ठले बताए। 

पर्यटन क्षेत्रको स्थिति सुध्रने आशामा हरेक त्रैमासिक अन्त्यमा सरसापट गरी बैंकको किस्ता मिलान गर्दै व्यापार धानेर बसेको र अब सापटी माग्ने ठाउँ पनि नरहेको व्यवसायीले बताएका छन्। 

संकटका अवस्थामा सरकारले अभिावकीय भूमिका खेल्न पनि व्यवसायीले माग गरेका छन्। सरकारले पर्यटन व्यवसायलाई अत्यधिक मारमा परेको क्षेत्रको रूपमा राखे पनि सरकारले दिने सहुलियत, राहत तथा अनुदानका प्याकेजहरू व्यवसायीले अनुभूति गर्न नपाएको व्यवसायीले बताएका छन्। 

केही व्यवसायीले सहुलियत ब्याजदर पाए पनि छोटो समयका लागि दिएकाले अपुग भएको परिषदका अध्यक्ष श्रेष्ठले बताए। यस आर्थिक वर्षमा सरकारले नीतिगत रूपमा नसमेटेका कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायीका दायित्वलाई चैत मसान्तको त्रैमासिक अन्त्यमा मिलान गर्नु पर्ने गरी ताकेता गरेकाले व्यवसायीलाई त्रसित पार्ने काम गरेको परिषदका अध्यक्ष श्रेष्ठले बताए। 

बैंकको ताकेताले व्यवसायी आतंकित र दायित्वको बोझले डिप्रेसनको सिकार समेत हुन थालेको उनले सुनाए। व्यवसायीलाई संरक्षण गर्न, पर्यटनमा भएको लगानी र रोजगारलाई जोगाउन यस वर्षको मौद्रिक नीतिले नसमेटिएको विषय वस्तुलाई परिमार्जित गर्दै थप कार्यक्रमहरू ल्याउन व्यवसायीले सरकारसँग माग गरेका छन्। 

बैंकलाई तिर्नु पर्ने ब्याज र सामा छिटोभन्दा छिटो तिर्न आतुर रहे पनि आर्थिक संकटको कारण सम्भव नभएकाले कर्जाको भुक्तानी तालिकालाई अर्को असार मसान्तसम्मलाई पुर्नतालिकीकरण गर्नुपर्ने व्यवसायीको माग छ। 

सरकारले अघिल्ला वर्षहरूमा ल्याएका कायक्रम पुर्नकर्जा कोष, पुर्नतालिकीकरण र व्यवसायी निरन्तरता कोष जस्ता सुविधाहरूको समयावधि न्यूनतम तीन वर्ष हुनुपर्ने व्यवसायीको माग छ। सुविधा नवीकरण र सुविधाबाट बञ्चित व्यवसायीहरूलाई यस आर्थिक वर्षमै उपलब्ध गराउन पनि व्यवसायीले माग गरेका छन्। 

कोभिडको पहिलो लहरपछि व्यवसायीका लागि कर्जा मिलान गर्ने प्रवाह गरेको अतिरिक्त कर्जा बढीमा १० प्रतिशतसम्म बैंकहरूले मिलान गर्नका लागि ताकेता गरिराखेकोमा उक्त कर्जा अवधि हालको अवस्थामा व्यवसायीहरूलाई फिर्ता गर्न थप एकवर्ष थपिदिन पनि व्यवसायीले माग गरेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर एक अंकमा झारिनु पर्ने व्यवसायीको माग छ। ७ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १६ प्रतिशत सम्म पुगेकाले जति ब्याज तिर्छु भनेर ऋण लिएको भन्दा बढी तिर्न नसकिने उद्योग वाणिज्य संघका प्रतिनिधि राम कँडेलले बताए।  

पर्यटन उद्योगमा थप लगानी नगर्ने नीति तुरुन्त परिमार्जन गरी कम्तीमा १० प्रतिशत गाईडेड लोनको व्यवस्था हुनुपर्ने लगायतमा व्यवसायीको माग छ। व्यसायीको माग सुनुवाइ नभए आन्दोलनमा उत्रनुको विकल्प नभएको पनि व्यवसायीले बताएका छन्। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएको सुस्तताले पनि पर्यटन व्यवसायीलाई निराश बनाएको भन्दै छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न पोखरा पर्यटन परिषदका महासचिव सञ्जयकान्त सिग्देलले बताए।  

पोखरामा १२ सय होटलमा एक दिनमा ४० हजार पर्यटक अट्न सक्ने क्षमता भए पनि अहिलेको अकुपेन्सी जम्मा १५ देखि २० प्रतिशत मात्र रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 

होटलको संख्या बढ्यो तर पर्यटकको आगमन नबढ्दा पर्यटन क्षेत्रमा भएको लगानी जोखिममा परेको पनि उनले सुनाए। पोखराको पर्यटन क्षेत्रमा ६ खर्ब बढी लगानी रहेको पोखरा पर्यटन परिषदका महासचिव सञ्जयकान्त सिग्देलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.