अगस्टोको भनाइ झैं रंगमञ्चमार्फत विमोक्षले क्रान्ति नगरे पनि दलित जागरणको क्रान्तिको पूर्वाभ्यास गरेको छ। पीडा भर्सेस प्रेमको संगम हो, विमोक्ष।
संवादमै विमोक्षको जीवन पाउँछन् दर्शकले। संवादबाटै तीतामीठा पलहरू ओकल्छन् पात्रहरू अनि तुषहरू छताछुल्ल पार्दै पखाल्न खोज्छन् पापहरू पनि। खाटा बसेको घाउ कोट्याउँदै संवादकै मह्लम लगाउँछन् रश्मी र दीप।
‘रंगमञ्च आफैंमा क्रान्ति होइन, क्रान्तिको पूर्वाभ्यास भने हो।’ अगस्टो बोआलको यो भनाइको सार हो, घिमिरे युवराजको नाटक ‘विमोक्ष’। राजधानीमा हप्तौं भौतारिंदा पनि डेरा नपाएपछि कमल घिमिरे बनेर सम्पन्न परिवारको मन जितेको दीप दर्नालको जिन्दगीको आरोह, अवरोहका अनेकौं दृश्यहरूको शृंखलाको समष्टि रूप हो, विमोक्ष।
‘...जो पुस्तौंदेखि यो देशमा अछूत भएर बाँच्न बाध्य छन्, तिनलाई विभेद र अपमानको मर्म बुझाउन खोज्दै होइबक्सिन्छ कर्नेल्नी साहेब ! मेरा कुप्रीआमाबा, बाजेबज्यै, हजुरबा, हजुरआमाको कुरा छोडिबक्सियोस्। मेरा बुवाआमाकै कुरा सुनिबक्सियोस्, तिनले गाउँमा अत्यन्तै अपमानित जीवन बाँचे। अपहेलित भएर बाँचे। र आज पनि म यो तथाकथित यो आधुनिक सहरमा मेरा बुवाआमाले जस्तै अपमानित जीवन बाँच्न बाध्य छु...।’
दर्शकलाई भरपूर आनन्द दिँदै सबै हिसाबले पूर्ण सन्तुष्ट बनाउने विमोक्षमा केवल चार पात्रले भूमिका निभाएका छन्। मुख्य भूमिकामा नाटककार घिमिरे युवराज नै दीप दर्नाल बनेका छन् भने उनी कमल घिमिरे बनेर डेरा बस्दाकी घरधनी कर्नेल्नी साहेब बनेकी रस्मीदेवी बस्नेतको भूमिकामा पवित्रा खड्का छन्। वृद्धावस्थामा पुगेकी रस्मी मुमा हजुर (कर्नेल्नी साहेब)को भूमिकामा सगुना साह छन्। कमल पौडेल बनेका पात्रको भूमिका भने सागर खाती कामीले निभाएका छन्।
नाम लिइरहे पनि कर्नेल श्यामकुमार बस्नेत र कर्नेल्नी रस्मीका दुई छोरी शीतल र शिला भने नाटकमा देखा पर्दैनन्। श्यामकुमारको निधनपछिको कथा नाटकमा देखाइएको छ। परिकल्पना र निर्देशन प्रवीण खतिवडाले गरेका छन्। उनले नाटकलाई जीवन्त बनाउन भरमग्दुर प्रयास गरेको दर्शकले सहजै बुझ्न सक्छन्। सुखदेखि सास्तीसम्मका विभिन्न दृश्य प्रस्तुत गर्दा निर्देशक खतिवडाले गरेको सत्प्रयासले ‘विमोक्ष’ जीवन्त बनेको छ। चारैजना कलाकारको अभिनय कुनै चलचित्रका दृश्यमा भन्दा कम लाग्दैन।
रस्मीले दीपलाई बैनीको बारेमा सोध्छिन्। जवाफमा जे संवाद छ, त्यसले एउटी दलित युवती राजधानीमै बसे पनि कस्तो हविगतमा बाँच्छे भन्ने दृश्य घामझैं छर्लंग बनाइदिन्छ। व्यंग्यमिश्रित हाँसोमा बैनीको बेलीबिस्तार यसरी लगाउँछन् दीप– एक महान् लेखकको चक्करमा परी। हजुरको भाषामा प्रेम नै भनौं न। उनीहरूले केही वर्षअघि बिहे गरे। अचेल टीभी पत्रपत्रिकामा छाएका छन् नि अन्तरजातीय विवाह गर्ने क्रान्तिकारी लेखक भनेर। उनै हुन्। एउटी दलित केटीले कथित उच्च जातको केटासँग विवाह गरिदिएपछि त्यो केटा क्रान्तिकारी कहलिन्छ। उसले ठूलो सेक्रिफाइस गरेको ठानिन्छ। परिवारसँग विद्रोह गरेको मानिन्छ। त्यसो भए त्यहाँ प्रेम कसरी हुन्छ ? अझै पनि दलितसँग विवाह गर्नेले दलितलाई उद्धार गरेको ठान्छ। मिडियामा पनि यसरी नै कुरा आउँछ। ऊ सेलिब्रेटी ब्राह्मिन राइटर म्यारिड टु अ दलित गर्ल– अंग्रेजी समाचारको शीर्षक। वाउ ! यो हो नि क्रान्ति। एउटा औसत लेखक दलित केटीसँग विवाह गरेपछि महान् बन्छ। अनि घरमा श्रीमतीलाई दास झैं व्यवहार गर्छ। म दुई कौडीको सामान्य मान्छे, मैले कसैलाई महान् बनाउने हिम्मत गरिनँ।
विषयवस्तुको उठान र बैठन मर्मस्पर्शी छ। खासगरी २१औं शताब्दीको यो आधुनिक समयमा महानगर रहेको देशकै राजधानी सहरमा दलित युवकयुवतीको यथार्थ के छ ? भन्ने यथार्थलाई यसरी नै सहज र सचेत शैलीमा उठाइएको छ। वाक्य छोटा र मीठा छन्। वाक्यहरूमा प्रयोग भएका शब्दहरू सुनिरहँदा बुझ्न कुनै सकस छैन। पुस्तकमात्र होइन, नाटकमा अभिनय गरिरहँदा दर्शकलाई सन्दर्भ वा घटनाहरू बुझ्न सजिलो छ। आवाजको दुनियाँ होस् वा संगीतको, मञ्च तथा प्रकाश परिचालन होस् वा भेषभूषा र शृंगार, अनि संगीत होस् वा मञ्चको थ्रीडी डिजाइन सबै कार्य सचेततापूर्वक गरिएका छन्। पर्दा अगाडि अनि पर्दा पछाडि अर्थात् दृश्य, अदृश्य दुवै पाटोमा काम गर्नेहरूको टोलीलाई दर्शकले ‘आरोप’ लगाइहाल्ने आँट गर्दैनन्। बरु नाटककारले ‘संवाद’हरूको प्रयोगमा विचार पु¥याइदिएको भए न कलाकारलाई लामा संवाद बोल्ने झन्झट हुन्थ्यो, न नाटक हेर्ने दर्शकलाई एउटै पात्रको एकोहोरो वर्णन सुन्ने। यद्यपि बेलाबखतका कवितात्मक शैलीको प्रस्तुति र बनिबनाउ दृश्यहरूको प्रस्तुतिले भने दर्शकलाई जोसजाँगर बढाएकै हुन्छ।
प्रज्ञा प्रतिष्ठानले विमोक्षलाई ‘सांसारिक मायाबन्धनबाट छुट्कारा पाउने काम, मोक्ष, मुक्ति’ भनेर अथ्र्याएको छ। अगस्टोको भनाइझैं रंगमञ्चमार्फत विमोक्षले क्रान्ति नगरे पनि दलित जागरणको क्रान्तिको पूर्वाभ्यास गरेको छ। पीडा भर्सेस प्रेमको संगम हो, विमोक्ष। प्रेमको पल्लो पाटो जहाँ प्रेमीहरूले आफूलाई परिणाम पाएको महसुस गर्छन्, हो त्यही तलाउमा पटकपटक डुबुल्की मारेका दृश्यलाई देखाएर पात्रहरूले दर्शकलाई समेत ‘नोस्टाल्जिक’ बनाइदिन्छन्। पतिको निधनपछि मायाजालमा मस्त रस्मीको उमेर न दीपसँग मिल्छ, न अरू केही तर मिल्छ केवल कामवासनामा हराउने मन। यौवनले भरिभराउ हुँदा केवल पतिको रखेल झैं बन्न विवश रस्मी दीपमार्फत यौवनको भरपूर मजा लिन्छिन्। जीवनको उत्तराद्र्धमा लामो समयपछि भएको भेटमा गरिएका संवादले विगतको व्याख्या विश्लेषण गर्दै वर्तमानको चाहनासमेत व्यक्त गर्छन् रस्मी र दीप। वर्तमानको भुइँ टेकिरहँदा भने रस्मी नोस्टाल्जिक हुँदै दीपसँग पुन : रमाउन चाहेको देखिन्छ तर देखिँदैन दीपमा त्यो उज्यालो।
संवादमै विमोक्षको जीवन पाउँछन् दर्शकले। संवादबाटै तीतामीठा पलहरू ओकल्छन् पात्रहरू अनि तुषहरू छताछुल्ल पार्दै पखाल्न खोज्छन् पापहरू पनि। खाटा बसेको घाउ कोट्याउँदै संवादकै मह्लम लगाउँछन् रश्मी र दीप। कैयौं पटक खबर पठाउँदा पनि भेट्न नआएको÷नचाहेको दीप जीवनको उत्तराद्र्धमा एक दिन अनायसै भेट्न आउँदा भएका संवादमै नाटक सुरु र अन्त्य हुन्छ।
शारीरिक सम्बन्धदेखि स्वाभिमान र अपमान सबै सुनाउँछन् रस्मी र दीप। समाजले जातका आधारमा गरेको वर्गीकरणलाई प्रेम र यौन सम्बन्धमा कुनै छेकबार रहन्न भनेर छर्लंग्याइदिएको छ विमोक्षले। नोस्टाल्जिक बन्दाका कमल र रस्मीको रतिरागात्मक दृश्यहरूले दर्शकलाई नाटक होइन, सिनेमा हेरेको आभास गराउँछन्। मल्टिमिडियाको प्रयोगले नाटक ‘रोचक’मात्र बनेको छैन, ‘रियल फिलिंगस्’मा दर्शकलाई डुबाएर सबैको मन
जित्न सफल भएको छ।