विभेद तिनैले गर्छन्, जसले अभियान चलाउँछन्
गोरखा : घामले काठमाडौंको हलचोक, पोखराको हलचोक र गोरखाको हुलचुकलाई खासै विभेद गर्दैन, किनभने यी सबै ठाउँमा उदय र अस्तय एकसाथ हुन्छ। विभेद त तिनले गर्छन्, जसले विभेदविरुद्ध वर्षौंदेखि भाषण गर्दै आएका छन्, अभियान सञ्चालन गरिरहेका छन्।
यही विभेदको सिकार बनेका छन्, धार्चे १ हुलचुकका राजु, मनमाया, सन्तमाया र गोरे बिकहरू। उनीहरूलाई उचोनिच, छुवाछूत, धनी गरिबमा विभेद गर्ने पनि मान्छे नै हुन्, ज्यालामा भेदभाव गर्ने, लालपुर्जामा विभेद गर्ने पनि मान्छे नै हुन्। हुलचुकको बाक्लो बस्तीबाट पश्चिमतर्फ घरजत्रा ढुंगाहरूको बगैंचा छ। बस्तीभित्र खोर बनाउने जग्गा नभएकाले हरेक घरपरिवारको बाख्राको खोर त्यही ढुंगेबगैंचामा बनाइएको छ। भकारीभन्दा ठूला समथर ढुंगामाथि बाख्रा र बंगुरका खोरहरू छन्।
त्यस्तै ढुंगेवागमा नौ घर दलित (कामी) समुदायको बसोबास छ। उनीहरूमध्ये कसैको पनि न ओत लाग्ने घरघडेरीको लालपुर्जा छ, न गरिखाने जग्गा जमिन । कुल १२ घर बिकहरूमध्ये तीनजनाले वैदेशिक रोजगारबाट कमाएको पैसाले घडेरी किनेर घर बनाएका छन्। नौ घरधुरी सार्वजनिक जग्गामा ठडिएका छन्। ‘यो टोल नै सार्वजनिक टोल हो’, मनमाया भन्छिन्, ‘पाँच पुस्ता भयो आएर बसेको। गाउँमा भाँडा अर्जाप्ने कामी नभएर बिस्टहरूले ताकुबाट हाम्रा जिबा, जिमाहरूलाई ल्याएको रे। ल्याएर सार्वजनिक ठाउँमा राखेछन्। त्यो बेलादेखि अहिलेसम्म सार्वजनिकको सार्वजनिकमै बित्यो हाम्रो जुनी।’ २०३९ र २०४२ सालमा गाउँमा नापी आउँदा पनि बाजे, बज्यैले बुद्धि नपुर्याएको भन्दै उनले पुर्खाप्रति दुःख व्यक्त गरिन्। ‘आफू आँखा जान्दैन। आँखा जाने त जिल्लामा जान्थ्यो। न त बुरोले जान्छ, न त बुरीले जान्छ, न त छोराले। छोरा पर् भनेको मानेन। छोरा र छोरीलाई बाठो बनाम्ला भनेको, बनाउन पाएन’, आफ्नो यथार्थ अवस्था बनावटी नठान्न आग्रह गर्दै मनमाया भन्छिन्, ‘अध्यक्षहरूलाई सोधे नि हुन्छ। हाम्रो त केही पनि छैन। बिस्टको सेवा गरेर खाने हो। बिस्टहरूको भाँडा अर्जपेर जति आउँछ, त्यही भाग लाउने हो, खाने हो। त्यसले नपुगे तीन सयको निमेक गर्यो, खायो।’
हुलचुक गाउँमा एकदिनभरि मेलापातको काम गरेको निमेक तीन सय रुपैयाँ चलेको छ। ‘मकै दिए दुई पाथी, पैसा दिए तीन सय त हो नि’, अर्का राजु बिक भन्छन्, ‘दिनभरि काम गर्यो, निमेक जम्मा तीन सय। तीन सयले एक जोर चप्पल त आउँदैन, त्यसले के आउँछ र के खाने ? यहाँ एक पाथी चामलको तीन सय पर्छ।’
उनको गाउँघरमा पैसाको मुख देख्ने बाटो अरू केही छैन। गाउँपालिका वा वडा कार्यालयले सञ्चालन गरेको विकास निर्माणको योजनामा श्रम गरेको ज्यालादर राम्रै छ। तर गाउँ ठूलो, श्रम गर्न चाहने मान्छे धेरै भएकाले कामको अवसरका लागि हानाथाप हुन्छ। ‘सरकारको काम गर्यो भने दिनको पाँचसय, छ सय पाउँछ, तर कामै एकदिन, दुई दिनभन्दा धेरै गर्न पाउँदैन’, गोरे बिक भन्छन्, ‘समितिमा बस्नेहरूले चाहिँ योजना नसकियुञ्जेल गर्न पाउँछ, अरूले चाहिँ त्यही एक, दुई दिन मात्र हो, नत्र पाइँदै पाइँदैन। धेरै पाए दुई दिन।’ बाटो, भवन, खानेपानीको योजनाहरूमा ढुंगा, माटो, काठ बोक्ने काम गर्न पनि हारालुछ हुने उनीहरूको गुनासो छ।
सरकारी काममा महिला र पुरुषको ज्यालामा विभेद छ। ‘ढुंगा, माटो बोक्ने केटा मान्छेलाई छ सय, केटी मान्छेलाई पाँच सय दिन्छन्’, सन्तमाया बिक भन्छिन्, ‘हँसिया, कोदालो खेलाउने, बारी खन्ने, किसानी काम गर्नेलाई चाहिँ तीन सय मात्रै हो।’ बाउबाजेले सम्पत्ति नआर्जेकाले अहिले आफूहरूले दुःख पाएको सन्तमायाको गुनासो छ। ‘हाम्रो बाउबाजेले जरा बसाल्या भए पो हामीले काम गरेर खाने त, जरा त क्यै छैन, हामीले अहिले टुप्पामा मात्र के गर्ने ?’, उनी भन्छिन्।
हुलचुकका दलित समुदायको सार्वजनिक जग्गामा एउटा घर शिवाय सम्पत्तिको नाममा नङमा लाउने माटो पनि छैन। ‘एउटा घर मात्रै छ, बलेनी झरेको भन्दा उता अरूको पर्छ’, तेजमाया बिक भन्छिन्, ‘त्यही पनि आफ्नो नाममा लालपुर्जा भइदिया भए त हुन्थ्यो। जुन अध्यक्ष आए पनि हाम्रो माग पूरा भएन। अघिल्लो अध्यक्षले पनि हुन्छ, हुन्छ भन्दाभन्दै पाँच वर्ष सकियो। अहिले नयाँ अध्यक्ष भा’का छन्। उन पनि ल, ल मात्र भन्या हुन्। गाउँमा जति नयाँ मान्छे आए पनि हामीले सुनाउन्या यही दुःख हो। बाउबाजे पनि सुकुम्बासी भएरै मरे। हामी पनि सुकुम्बासी भएरै मर्ने भइयो।’ भोट माग्न आउनेसँग पनि लालपुर्जा मागेको भन्दै उनले हुन्छ हुन्छ भनेर गएपछि कोही फर्केर नआउने गरेको गुनासो गरिन्।
‘बस्ने ठाउँ छैन, गरेर खाने जग्गाजमिन छैन। बिस्टहरूले जे, जति दिन्छन्, त्यतिमै खुसी हुनुपर्छ। हामी दलितको जुनी खेरै ग’को हो’, तेजमाया भन्छिन्, ‘एउटा धुरी अट्ने मात्र जमिनको लालपुर्जा भए पनि मलाई त पुग्छ।’
घरघडेरी जोड्न यहाँका दलित समुदाय वैदेशिक रोजगारीमा नगएका पनि होइनन्। तर तीनजनाले बाहेक अरू कसैले पनि जग्गा किन्ने गरी पैसा नकमाएको उनीहरूको दुःखेसो छ। कोही बिरामी भएर फर्केको, कोही ऋण तिर्ने पैसा मात्र कमाएर फर्केको, कोही जाँडरक्सीले बिग्रिएर फर्केको, कोही जेलमा परेर उतै चन्दा उठाएर फर्किनु परेको उनीहरूको भनाइ छ। हँसिया कोदालो अर्चापेर पाएको बालीले पुस्ता बितिरहेको उनीहरूको भनाइ छ। ‘धन्न यो जनजाति छ र हामी बाँचेका छौं’, मनमाया बिक भन्छिन्, ‘नुन दिन्छन्, तेल दिन्छन्, खुर्सानी दिन्छन्। मकै, कोदो, गहुँ भटमास, केराउ दिन्छन्। उनीहरू जे–जे उब्जाउँछन्, त्यै–त्यै दिन्छन् र हामी पालिएका छौं।’