वन क्षेत्रका बस्ती हटाइँदै
वीरेन्द्रनगर : सुर्खेतको बराहताल गाउँपालिकाको गिरीघाटस्थित जुम्ला रोडसँगै जोडिएको वन क्षेत्रमा बसोबास गर्दै आएका बाढीपीडितको बस्ती उठाउन पहल सुरु गरेको छ। बाढीपीडित भने स्थानीय सरकारले उठीबास गर्न खोजेको बताउँछन्। २०७१ सालमा भेरी नदीमा आएको बाढीका कारण घरबारविहीन भएका बाढीपीडितहरू ९ वर्षदेखि गिरीघाट जंगलमा घर बनेर बसिरहेका छन्। बराहताल गाउँपालिकाको वडा नं. २ ले उक्त बस्ती हटाउन ३५ दिने सूचना जारी गरको छ।
बाढीपीडित सिर्जना विक विकल्प नदिएर स्थानीय सरकारले बस्ती उठाउन खोजेर अन्याय गरेको बताउँछिन्। २०७१ साल साउन २९ गते भेरी नदीमा आएको बाढीले बराहताल गाउँपालिका वडा नं. २ सिस्नेरी र डोप्कामा एकै परिवारका तीन जनासहित ९ जनाको ज्यान गयो। करिब १ सय १९ परिवार विस्थापित गिरीघाट जुम्ला रोडको बाढीपीडित बस्तीमा बस्दै आएका बाढीपीडित पर्सबहादुर घर्ती मगरले बताए।
गिरीघाट किनारमा जुम्ला रोडसँग जोडिएको जंगलमा टहरा बनाएर खोलामा गिट्टी कुट्ने, बालुवा चाल्ने र त्यसैबाट कमाएको रकमले परिवार पाल्ने गरेको अर्का बाढीपीडित अम्मरबहादुर सारु मगर बताउँछन्।
बाढीपीडितलाई कर्णाली प्रदेश सरकारले दिएको तीन लाख रुपैयाँ दिएको थियो। बाढीपीडित लीला सारु मगरले भनिन्, ‘दुई छोरा एक छोरीसहित पाँच जनाको परिवार नौ वर्षदेखि जंगलमा कटेरोमा बास छ। दैनिक घर खर्च, लुगाकपडा, बिरामी पर्दा उपचार गराउँदा सरकारले दिएको राहत सकियो। अहिले अर्को ठाउँमा गएर कटेरो निर्माण गर्नेका लागि आवश्यक रकम पनि कहाँबाट ल्याउनु ? गिरीघाट खोलामा दिनहुँ गिट्टी नकुट्दा, बालुवा नचाल्दा परिवार कसरी पाल्ने भन्ने पीर छ।’
बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले गिरीघाटका बाढीपीडितहरूको समस्या स्थायी रूपमा समाधान गर्नकै लागि कार्यपालिकाको निर्णयअनुसार उनीहरूलाई स्थानान्तरणका लागि सूचना जारी गरिएको बताए। उनले भने, ‘गिरीघाटको खोला र राजमार्गको छेउमा रहेको असुरक्षित बस्तीलाई हामीले बराहताल गाउँपालिका वडा नं. २ मा रहेको सिरानचौरमा सार्नका लागि गाउँपालिकाले निर्णय गरिसकेको छ। त्यहाँ बस्ती स्थानान्तरण भएपछि भूमि आयोगबाट जमिन पनि उपलब्ध गराउने तयारी छ।
बाढीपीडितका लागि सरकारले दिने राहत पनि तीन लाखका दरले सबैले पाइसकेका छन्। उनीहरूले जग्गा किनेको र घर बनाएको भनेर किस्ताकिस्तामा राहत लिएका छन्।’