सपना अवसानको पथतिर

विदेशी नाटक

सपना अवसानको पथतिर

नाटकको सेटिङ लोभलाग्दो छ। ‘बिम्ब’हरूको प्रयोग यो नाटकको गहना हो।

वीरेनप्रताप र मेरो बुवा  :  २० वर्षदेखि चलेको खाना होटल भएको जग्गा बिनाजानकारी जग्गाधनीले बेचिदिए। हाम्र्रो परिवारका सबैको रोजगारदातामात्रै नभई बुवाको अति प्यारो ठाउँ थियो। बुवा हामीबाट छलिएर रोएको देख्नेले खबर ल्याए ! खर्च एवं भविष्यको चिन्ता नलिन सम्झाएँ बारम्बार। ‘म अब तिमीहरूले दिएको खर्चले बाँच्नुपर्ने भयो ?’ बुवाको भनाइमा चिन्ता मात्र नभएर बेरोजगारीसँगै आकांक्षाको अवसान पनि झल्किन्थ्यो।

वीरेनप्रतापको सकस  :  कामबाट घर फर्किने क्रममा थकित वीरेनप्रताप (रोय)को कार दुर्घटनामा परेको पृष्ठभूमिमा सुनिन्छ। पर्खिएर बसेकी श्रीमती लता (दिया मास्के) वृद्ध छिन्। घर सरसफाइको कामले घुँडा कर्र्करी खान्छ। घर, सामानहरू पुराना छन्। चुहिने छानो भर्खरै टालेको छ। जेठो छोरो सनुपप्रताप (दिव्यदेव)सँग बुवाको सम्बन्ध त्यति राम्रो छैन। कान्छो छोरो सगुनप्रताप (विकास) बाआमासँगै बस्छ, प्यारो पनि छ।

घर जोडिएको असल छिमेकी चन्द्रवीर समकक्षी हो, वीरेनप्रतापको। ‘असल’ र ‘समकक्षी’ शब्दलाई आफ्नै जीवनसँग केलाएर विश्लेषण गरौं त। ‘समकक्षी’ खराब हुन्नन् तर अघि बढ्न खोज्दा पछाडि नै तान्ने ईष्र्याको अंकुशे कहाँबाट कुन बेला निस्किन्छ, समकक्षी स्वयंलाई पत्तो नहुने रहेछ ! चन्द्रवीर (सन्देश शाक्य) जागिर दिन तयार छ तर वीरेनप्रताप चन्द्रवीरसँग काम गर्न चाहँदैन। ३० वर्षदेखि काम गरेको कम्पनीले बेरोजगार बनाइदिन्छ। बजारमा आफ्नो ‘सेल्सम्यानसिप’ खस्किँदै जानु वीरेनप्रतापले आफूलाई अपडेट गर्न नसक्नु पनि देखिन्छ।

वीरेनप्रताप छोराहरूको भर परेर आफ्नो पुरुषार्थ नडगमगाओस् चाहन्छ। अर्काे चाहना झन् चर्काे छ, छोराहरू ‘स्टार’ बनुन्। वीरेनप्रताप छोराहरूमा आफूभन्दा ज्यादा ‘सेल्सम्यानसिप’ भरिदिन चाहन्छ अर्थात् बिक्री गर्ने कला ! बुढ्यौली नै सही काम गर्ने इच्छा हुनु बाध्यात्मक परिस्थिति झल्किन्छ। आफ्नो ‘सेल्सम्यानसिप’को छवि बजारबाट हराउँदै गएकोमा बढी चिन्तित छ ऊ। जवानीको जस्तै ‘प्रताप’ छाइरहोस् भन्ने चाहना उसमा तीव्र देखिन्छ। यही चाहना अनि चिन्ताको सेरोफेरोमा नाटक २ घण्टा २५ मिनेटको यात्रा पार गर्छ।

वीरेनप्रतापको चिन्ता आम नेपाली बुवाआमाको चिन्ता हो, झल्किन्छ। ऊ पछुताउँछ विशेषगरी बन्धु (शेखर चापागाईं)ले आफूसँगै अफ्रिका लैजाने र हीराको व्यापारमा लगाउने भनेको कुरामा लाग्न नसक्दा। बन्धु छोटो समयमा करोडपति बनेको प्रसंगले वीरेनलाई घोचिरहन्छ। छोराहरू सानैदेखि अब्बल बनुन् भनेर सँगै खेल्छ, रमाउँछ, उफ्रिन्छ, प्रोत्साहन गर्छ। दुवै छोराका इच्छा पूरा गर्न कुनै कन्जुस्याइँ गर्दैन। सनुपप्रताप एनआरटीको राम्रो खेलाडी हो। छोरो ‘स्टार’ खेलाडी बनेको देख्ने रहर छ। चन्द्रवीरको छोरोजस्तै किताबी किरो आफ्नो छोराहरूलाई बनाउनु छैन। सनुपप्रताप गणितमा फेल हुँदा वा चोरी गर्दासमेत सचेत गराउँदैन।         

घरमा आदर्श छवि भए पनि पारु (मेनका प्रधान)सँग रमाउन खप्पिस छ वीरेनप्रताप। जेठो छोराले एकदिन भेटेपछि द्वन्द्वको बीजारोपण हुन्छ। घरको किस्ता तिर्नसमेत नसक्ने अवस्थाको वीरेनप्रताप ‘आत्माग्लानी’ले एक किसिमको रोगीजस्तै लाग्छ। केही मान्छेहरूका अनेक प्रसंग उसको कल्पनामा आउँछन्। परिवारको खुसीको लागि आफ्नो मृत्यु पनि वीरेनप्रतापलाई सहज लाग्छ।

नाटकको सेटिङ लोभलाग्दो छ। ‘बिम्ब’हरूको प्रयोग यो नाटकको गहना हो। हरेक नाटकमा नयाँनयाँ ‘बिम्ब’ ‘क्रिएट’ गर्नु निर्देशक अनुप बरालको अद्भुत खुबी हो। थाङ्ला, खुमा, ओ स्टार दुनियाँ, कोर्टमार्सल, थर्टी डेज इन सेप्टेम्बर, महाभोजजस्ता कालजयी नाटक हेर्ने दर्शक अनुप बरालको यो खुबीसँग परिचित छन् नै। छोराको ‘स्टार’ हुने सपना अवार्ड खसेर चकनाचुर भएको, वीरेनप्रताप जलेको, कुरा सटिक र फरक प्रयोगबाट देख्न पाइन्छ। अभिनयको रंगीन दुनियाँमा ‘स्टारहरू’ थप्दै जानु निर्देशकको परिचय हो। कठिन ‘इम्याजिनेसन’लाई मञ्चमा हुबहु दृश्यात्मक बनाउने क्षमता कमै निर्देशकमा हुन्छ।

रोय नेपाली रंगमञ्चमा अभिनयका बादशाह नै हुन्। टोपी र चश्माको भरमा बूूढो र जवान चरित्रमा सहजै प्रवेश गरी दर्शकलाई मुग्ध बनाउन चानचुने खुबीले पुग्दैन। दिया मास्केको अभिनय युवती हुँदा ज्यादा सहज लाग्छ। मेनका प्रधानको चरित्र पारु कथामा महŒवपूर्ण नभए पनि अभिनयले दर्शकमा गज्जबको छाप छोड्छ नै। सारा जे अधिकारी र निकिता आचार्य छोटो समय मञ्चमा देखिएर दर्शकलाई मोहनी लगाउँछन्। जीवन गौतम, अविरलप्रताप अधिकारी, अभिषेक खड्काले प्रमाणित गरे सायद पहिलो नाटकबाटै, यिनीहरू भविष्यका ‘स्टार’ हुन्। उत्पल झा, सूर्यमान लिम्बू, विकास जोशी चरित्रअनुसार सुहाएका छन्। शेखर चापागाईं ‘जस्टिफाइड’ लाग्छन्। सन्देश शाक्य बेलाबलामा वीरेनको घरमा नआइदिने हो भने नाटक लामो लाग्न सक्थ्यो। उनको सहज अभिनयले यसो हुनबाट जोगाएको छ। उमेश तामाङको प्रकाश समयोजन अर्थपूर्ण छ।

८० वर्षअघि आर्थर मिलरले लेखेको ‘डेथ अफ सेल्सम्यान’लाई विप्लव प्रतीकले अनुवाद गरेका हुन्। आखिर हामी सबै जे जति गरिरहेका हौं, ‘सेल्सम्यानसिप’ को प्रदर्शनी नै हो। हामी मर्दा मलामी आउने नआउने हाम्रो खुबीले हो। किन मलामी धेरै आएनन् ? उनले जीवनमा के गल्ती गरे ! यो चिन्ता वीरेनप्रतापकी श्रीमतीको हो। ‘गुमनाम’ हुन मन पराउने विप्लव प्रतीक अहिले ‘सेल्सम्यानसिप’मा सबैभन्दा अब्बल छन्। ‘सेल्सम्यान’को ओज हाम्रो समाजमा आइपुग्दा ‘सपना’ले बोकेको छ। हरकोहीको सपना ! पुरुषप्रधान यो नाटकको सार्थकता पुँजीवादी व्यवस्थामा मानव अस्तित्व रहुन्जेल हराउँदैन।

हिजोको ‘डेथ अफ सेल्सम्यान’ आजको ‘डेथ अफ सेल्सवुमन’ ‘डेथ अफ पोएट’ पनि हुन सक्ला, ‘डेथ अफ राइटर’, ‘डेथ अफ निर्देशक’, ‘डेथ अफ टिचर’, ‘डेथ अफ डाक्टर’, ‘डेथ अफ आर्ट’, ‘डेथ अफ बिजनेस’, ‘डेथ अफ स्टारडम’ आदि आदि भएर नै ‘एउटा सपनाको अवसान’मा अवतरित हुँदा पुरुषप्रधान चेत बदलिन पनि सक्थ्यो कि ! नाट्य सिर्जनाको मुख्य परिवेशभन्दा टाढा हामी बाँचेको ८० वर्षपछिको यो समाजमा आखिर ‘सेल्सम्यान’को मात्रै नभएर हरकोहीको ‘सपनाको अवसान’ भइरहेको छ।

वीरेनप्रताप र म  :  जहाँ जान्छु म छोराछोरीलाई सँगै लिएर हिँड्छु। उमेरले सानै भए पनि छोरीले आफ्ना ‘फेभरेट’ गीतहरू चिन्न थालिन्। उनकै रोजाइका गीतहरू अभ्यास गराएर उनी गायक भएको सपना देख्न सुरु गरिसकें। छोराको इच्छामा आफ्नो सपना घोलेर ‘क्रिकेटर’ बनेको सपना देख्न मन लाग्छ। आखिर म पनि आफ्ना अनि छोराछोरीको सपनाको अवसानतिर लागिरहेको त हुँ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.