सफा नेपाल एप लन्च गर्दै मेयर सिंहले भने : महानगरमा लापरवाही गर्ने कसैलाई छुट छैन
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सहरको सरसफाइ र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन सफा नेपाल नामक एप निर्माण गरी शुक्रबारदेखि शुभारम्भ गरेको छ। शुक्रबार साँझ आदर्शनगरमा एक समारोह आयोजना गरेर महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो।
समारोहमा वीरगन्जका मेयर राजेशमान सिंहले ल्पापटमा कि बोर्डको बटम थिचेर उक्त एपको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगन्ज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो।
मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार उक्त एपमा जोडिने प्रयोगकर्तले कही कतै कसैले घर वा पसलको फोहोर सडक , पेटी, नाला वा खाली जग्गामा फालेको भेटिए फोटो खिचेर त्यस बारे एपमा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ।
त्यसरी पुग्ने महानगरको टोलीले पहिलोपटकमा १ हजार, दोश्रो पटकमा ५ हजार रुपैयाँ र त्यसपछि दोहोरिएमा जरीवानाको रकम बढाउँदै कारबाही गर्ने घिमिरले जानकारी दिए।
फोहोर गर्ने व्याक्ति वा संस्थाका बारे एप मार्फत सुचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरीवाना रकमको केही प्रतिशत रकम महानगरले पुरस्कारका रुपमा प्रदान गर्ने पनि घिमिरेले बताए।
सहरको सरसफाई र स्वच्छताका लागि महानगरले केही महिना यतादेखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको घिमिरेले बताए।
एप लन्च समारोहलाई सम्बोधन गर्दै मेयर राजेशमान सिंहले वीरगन्ज शहरको सरसफाई र स्वच्छता आफनो मुख्य प्राथमिकतामा रहेको शुक्रबार साँझ देखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षत्रिै वीरगन्ज शहरको मुहार फेरिने बताए।
उनले केही महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाइ अभियान अब भित्री टोल र गल्लीहरुमा पनि सन्चालन गरिने बताए।
फरक प्रसंगमा बोल्दै मेयर सिंहले वीरगन्जको शिर निहुरिने खालको कुनै पनि विषयमा कसैसँग सम्झौता नगरिने बताए।
कामकै शिलशिलामा आफू दुई चार दिनका लागि वीरगन्ज बाहिर गएका बेला महानगरपालिकाको कार्यालयमा कर्मचारीहरुको बेथिती सुरु भइहाल्ने गरेको उनले बताए। यसप्रति आक्रोश पोख्दै उनले भने, ‘नगरपालिकाका कर्मचारी फेरि ट्रयाक बाहिर जान थालेको महसुस भइरहेको छ। तर म चेतावनी दिएर भन्छु म कदापी त्यसो हुन दिन्नँ। नियम नमान्ने , गलत गर्ने , लापरवाही गर्ने कसैलाई छुट हुँदैन।'
लापरवाही गरेका कर्मचारीहरु प्रति आक्रोश पोख्दै सिंहले भने, ‘जस्तो देउता उस्तै पूजा हुनुपर्छ भन्ने
उखान मैले बिर्सिसकेको थिएँ, तर फेरि लापरवाही सुरु भएको देख्दा मैले अब फेरि त्यही उखानमा भने जस्तै गर्नुपर्छ भन्ने लागिरहेको छ।'
महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनतका समस्या र आवश्यकता प्रति सचेत गराउँदै मेयर सिंहले भने, ‘वीरगन्जलाई बनाउने दायित्व हामी सबैको हो। त्यस कारण तपाईंहरु अझ थप मेहनत गर्नुहोस्। जनतालाई ध्यानमा राख्नुहोस्।'
आफूले नेर्तत्व सम्हालेको १० महिनामै वीरगन्ज बासीले परिवर्तनको अनुभूती गर्न थालिसकेको भन्दै उनले भने, 'म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन। ३ वर्षमै हरेक दृष्टिकोणबाट वीरगन्जको मुहार फेर्नुछ भनेर लागेकोछु। यसमा सबैको साथ र सहयोग आवश्यक छ।'
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा वीरगन्जका उपमेयर इम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वडाअध्यक्षहरुको पनि सहभागिता थियो।